अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि रास्वपाबाट भुसालको उम्मेदवारी घोषणा

बुधबार सन्धिखर्कमा पत्रकार सम्मेलन गरी भुसालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

पुस १६, २०८२

वीरेन्द्र केसी

Bhusal's candidacy announced from the Rashtriya Swayamsevak Sangh (RSS) for the House of Representatives seat in Arghakhanchi

अर्घाखाँची — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले जिल्ला सभापति हरिप्रसाद भुसाललाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

बुधबार  सन्धिखर्कमा पत्रकार सम्मेलन गरी भुसालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । भूमिकास्थान नगरपालिका–३ धारापानी निवासी ३७ वर्षीय भुसाल मिडिया सञ्चालक र लेखकका साथसाथै सन्धिखर्कमा व्यवसाय पनि गर्छन् । 

जिल्ला पार्टी र सबै पालिका नेतृत्वले सर्वसम्मत उम्मेदवार बनाएर घोषणा गरिएको रास्वपा सन्धिखर्क नगरपालिका सभापति राजु खड्काले बताए । 

गाउँमा संगठन विस्तार र चुनावी प्रचारसँगसँगै गरिएको उनले बताए । स्रोतका अनुसार अर्घाखाँचीमा उम्मेदवार बन्न धेरै जनाले केन्द्रमा धाए पनि जिल्लाबाट भुसाललाई सर्वसम्बत बनाइएको हो ।   

भुसाल २०७९ को प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीमा उम्मेदवार थिए । उनले ३ हजार २ सय मत ल्याएर तेस्रो भएका थिए । एमालेका टोपबहादुर रायमाझी ४२ हजार ६ सय ७५ मत ल्याई विजयी भएका थिए । उनका प्रतिस्पर्धी पाँच दलीय गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वउपसभामुख पुष्पा भुसाल गौतमले ४० हजार ९ सय ४५ मत पाएकी थिइन् । 

समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टीले ८ हजार ९ सय ५१ मत ल्याएर अर्घाखाँचीमा तेस्रो भएको थियो । पहिलो एमाले र दोस्रो कांग्रेस बनेका थिए ।

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully