तिनाउमा कोइलासहितको पानी बगेपछि... 

विस्तृत अध्ययन र लागत आकलन गरी संघीय सरकारबाट बजेट व्यवस्थापनका लागि पहल हुनुपर्छ : प्राविधिक अध्ययन समिति 

पुस १६, २०८२

माधव अर्याल

After water with coal flows in Tinau...

What you should know

पाल्पा — तिनाउ नदीको मुहान पूर्वखोला गाउँपालिका–४, देवीनगरको उड्डाँडामा खसेको सुख्खा पहिरोको विस्तृत अध्ययन र लागत आकलन गरी संघीय सरकारबाट बजेट व्यवस्थापनका लागि पहल गर्न प्राविधिक अध्ययन समितिले सुझाव दिएको छ ।

तिनाउ खोलाको मुहानमै खसेको सुख्खा पहिरोमा कोइला खानीसमेत रहेको र कालो लेदोसहितको पहिरो खसेपछि जिल्ला प्रशासन कार्यालयले गठन गरेको प्राविधिक अध्ययन समितिले यस्तो प्रतिवेदन दिएको हो । 

समितिको प्रतिवेदन अनुसार पहिरोबाट आएको माटो तथा चट्टानले तिनाउ नदीको तल्लो तटीय क्षेत्रका बस्ती तथा खेतीयोग्य जमीनमा क्षति पुर्‍याउने हुँदा जोखिम न्यूनीकरणका लागि तत्काल विस्तृत अध्ययन तथा लागत आकलन तयार पारी सम्बन्धित निकायमा बजेट व्यस्थापनका लागि पहल गर्नुपर्ने सुझाव दिएको छ । 

पहिरोको तल्लो क्षेत्रमा ठूलो गल्छी निर्माण भएको छ । पहिरोले ठूलो आकार लिने सम्भावना नभएमा तटबन्ध निर्माण गरेमा पहिरोबाट आउने डेब्रिज (गेग्रान)  नियन्त्रण भई तल्लो तटीय क्षेत्रमा कम क्षति हुने देखिने प्रतिवेदनमा छ । तर चेकबाँध निर्माण गर्न लागत धेरै लाग्ने र पहिरोले ठूलो आकार लिएर धेरै गेग्रान धेरै बगेमा संरचनाले धान्न सक्ने अवस्था नदेखिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।  

अध्ययन प्रतिवेदन समितिका संयोजक भू तथा जलाधार व्यवस्थापन कार्यालय, पाल्पाका निमित्त प्रमुख रोबर्ट महराका अनुसार अनुगमन तथा पूर्वसूचना प्रणालीअन्तर्गत अनुगमन टोली गठन गर्ने जसमा स्थानीय प्रतिनिधिहरूको समेत सहभागितामा निरन्तर अनुगमन गरी पहिरोको अवस्थाको बारेमा जोखिमयुक्त समुदायलाई निरन्तर जानकारी गराउँदा मानवीय तथा भौतिक क्षति कम हुने देखिन्छ । समितिमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, पाल्पाका निमित्त प्रमुख सुवोध गुरागाईं, खानेपानी तथा सरसफाइ कार्यालय, पाल्पाका इन्जिनियर आदित्य धिताल, डिभिजन वन कार्यालय, पाल्पाका वरिष्ठ वन अधिकृत सूर्यप्रसाद मैनाली र सदस्य सचिव जिल्ला समन्वय समितिको कार्यालय, पाल्पाका इन्जिनियर सफल चापागाईं थिए । 

समितिको प्रतिवेदन अनुसार पहिरोको मुख्य भाग ठूलो क्षेत्रमा फैलिनुका साथै अत्यन्त भिरालो छ ।  प्राकृतिक पहिरो भएको कारण तत्काल इन्जिनियरिङ उपायः टेवा पर्खाल निर्माण या बायो–इन्जिनियरिङ जस्ता उपाय घाँस, बिरुवा तथा वनस्पति रोपाइँबाट पहिरो नियन्त्रण भौगोलिक तथा आर्थिक हिसावले सम्भव नदेखिएका कारण यसलाई प्राकृतिक रूपमै रोकथाम हुन दिन मनासिव देखिएको छ । 

पूर्वखोला देवीनगरस्थित उड्डाँडाबाट निरन्तर रूपमा कालो कोइलासहितको पानी बगेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । चार वर्षअघि उड्डाँडामा पहिरो खस्न सुरु भए पनि कोइलासहितको पानी बगेको थिएन । पछिल्लो दुई महिना यता उड्डाँडाबाट कालो कोइलासहितको लेदो पानी तिनाउ नदीमा बग्न थालेपछि तल्लो तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका हुन् । 

After water with coal flows in Tinau...विभिन्न सञ्चार माध्यमबाट समाचार प्रकाशन/प्रसारण भएपछि गृह मन्त्रालयको ध्यानाकर्षण भएर प्रशासनले अध्ययनका लागि समिति गठन गरेको हो । यहाँ खसेको पहिरोले तिनाउ नदीको मुहान देवीनरको उड्डाँडा स्थित लिन्दी गैराबाट कोइलासहित कालो पानी निरन्तर बगेको छ । त्यसले तिनाउ नदी भएर बन्ने माथागढी गाउँपालिका–१, चिदीपानी ४ झडेवा, ३ कसेनी, तानसेन नगरपालिका–९, बगनासकाली गाउँपालिका–१ चिर्तुङ्धारा, २ को पोखराथोक, नायरनमतलेसका का बासिन्दा त्रसित बनेको हुन् ।

समितिको प्रतिवेदनअनुसार पहिरो क्षेत्र समुन्द्री सतहबाट १ हजा १५० मिटरको उचाइमा रहेको छ । यो क्षेत्र तिनाउ जलाधारको उपल्लो तटीय क्षेत्रमा पर्छ । जुन तिनाउका धेरै मुहानमध्ये एक हो । यहाँबाट पानीको उत्पत्ति भएको छ । लिन्दिगैराको पहिरोको स्थलगत अवस्था निरीक्षण गरी भूमि उपयोगको अवस्थासमेत समितिले अध्ययन गरेको जनाएको छ । पहिरो क्षेत्रको चारैतिर वनजंगलले ढाकेको छ । यस क्षेत्रमा विशेष गरी चिलाउने तथा कटुसको उपोष्ण चौडापाते वन रहेको छ । पहिरो भन्दा करिब १५ मिटर दक्षिण तिरबाट ग्रामीण मोटर सडक निर्माण भएको छ । 

सडकको अवस्था मर्मत सम्भार नभएको कारणले गर्दा सञ्चालनमा आएको छैन । पहिरोको करिब २०० मिटर पश्चिमतर्फ र दक्षिण तर्फ सामान्य बस्ती देखिन्छन् । यसबाट १२ घरलाई जोखिम देखिएको छ । पहिरो जानुपूर्व यहाँ वन क्षेत्रले ढाकिएको स्थानीयले बताएका छन् । पहिरोको तल्लो क्षेत्रमा ग्रामीण सडक निर्माण गरिएको छ । पहिरोको क्षेत्रमा गएर नापजाँच गर्न सक्ने अवस्था नभएको प्रतिवेदनमा उल्लेख छ । भिरालोपनाको डिग्री भन्न सकिने अवस्था नभएता पनि नांगो आँखाले ५५ देखि ६० डिग्री भिरालोपना रहेको छ । ३० प्रतिशत भन्दा बढी भिरालो भएकाले अति/अत्यन्त भिरालो क्षेत्रका रूपमा चित्रण गर्न सकिने प्रतिवेदनमा छ ।

पहिरो क्षेत्रमा भएका माटोको अवस्था हेर्दा कालो रङ भएको नरम माटो छ । स्थानीयबासीका अनुसार देवीनगर क्षेत्रमा कोइला खानी रहेको र केही वर्ष अघिसम्म कोइला उत्खनन कार्यसमेत भएको थियो । पहिरोको क्षेत्रमा पनि कालो माटो देखिएका कारण यो कोइलामिश्रित माटो देखिएको छ । कोइला या कालो माटो भन्ने विषयमा यसको ल्याब परीक्षण हुन जरुरी देखिने प्रतिवेदनमा छ । पहिरो क्षेत्रबाट कालो लेदोसहित बगेको पानीले माडी हुँदै बुटवल बग्ने तिनाउ खोला नै कालै र धमिलो बनाएको छ । वातावरणविज्ञका अनुसार कोइलाको कालो लेदो पानी बस्तुभाउ, खेतीबाली, पिउनका लागि योग्य हुँदैन । यहाँका विभिन्न स्थानमा कोइला खानी छ । 

After water with coal flows in Tinau...कोइला खानीबाट बगेको यसअघिको पानीले पनि खेती नहुने, पिउन योग्य नहुने र वस्तु भाउलाई खुवाउन नहुने जानकारी पाइसकेका थिए । वातावरणविद् युवराज कँडेलका अनुसार पानीमा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि हुन्छ । त्यसपछि जलचर तथा वनस्पतिको वृद्धि र विकासमा असर गर्ने कँडेलले बताए । स्थानीय वीरबहादुर गाहाका अनुसार स्थानीय बासिन्दाले तल्लो भेगमा लगाएको धान ल्याउन, खेतबारीमा जानसमेत समस्यामा परेका छन् । तिनाउ खोलाको मुहान भएकाले पहिरो खस्दा तल्लो तटीय क्षेत्रका बासिन्दाका साथै स्थानीय बासिन्दासमेत विभिन्न समस्या खेप्नु परेको सुनाउँछन् । 

भिरालो भएको र खस्ने सम्भावना बढी भएकाले सचेत हुनुपर्ने स्थानीय बताउँछन् । प्रहरीले १२ घरपरिवारलाई सचेत रहन आग्रह गरेको छ । खेतबारीमा सिँचाइ नगर्न, खानेपानीको मुहान भएकाले पानी प्रयोग नगर्न साथै माथिल्लो भेगमा रहेको बस्तीलाई सचेत हुन आग्रह गरिएको वडाध्यक्ष मेहरसिंह थापाले बताए । पूर्वखोला गाउँपालिका–४, देवीनगर क्षेत्रमा ६ वर्षअघिसम्म कोइला उत्खनन् हुन्थ्यो । जथाभावी र लापर्बाही ढंगले निकालेपछि स्थानीयले बन्द गराएका थिए । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully