अवधी पत्रकार संघद्वारा पत्रकार महासंघलाई ज्ञापन–पत्र

अवधी पत्रकार संघका अध्यक्ष मनीषकुमार गुप्ता नेतृत्वको टोलीले पाँचबुँदे माग राख्दै पत्रकार महासंघ शाखा अध्यक्ष डिलाराम भुसाललाई तौलिहवास्थित शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

पुस १५, २०८२

मनोज पौडेल

Memorandum from Awadhi Journalists Association to the Federation of Nepali Journalists

कपिलवस्तु — अवधीभाषी संचारकर्मीहरूको संस्था अवधी पत्रकार संघ जिल्ला समितिले अवधीभाषी पत्रकारका हकहित र क्षमता अभिवृद्धि गर्न माग गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

संघका अध्यक्ष मनीषकुमार गुप्ता नेतृत्वको टोलीले ५ बुँदे माग राख्दै पत्रकार महासंघ शाखा अध्यक्ष डिलाराम भुसाललाई तौलिहवास्थित शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएको हो ।

अवधीभाषी पत्रकारका सीप, दक्षता र क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका तालिम आयोजना गर्नुपर्ने र पत्रकार महासंघमा अन्य संगठनसरह अवधी पत्रकार संघको सहभागिता सुनिश्चित गर्न पनि माग गरिएको छ । 

त्यस्तै सदस्यता नपाएका अवधी पत्रकार संघका सदस्यलाई महासंघको सदस्यता दिलाउन पहल गर्नुपर्ने र अवधी पत्रकार संघ जिल्ला समिति कार्यालय संचालनका लागि पत्रकार महासंघको भवनभित्र व्यवस्थापनसहित कोठा उपलब्ध गराउनुपर्ने माग उल्लेख छ ।

यसैगरी जिल्लास्थित कार्यालय तथा संघ–संस्थाले सञ्चालन गर्ने कार्यक्रममा अवधी पत्रकार संघको अनिवार्य सहभागिता सुनिश्चित गर्न पत्रकार महासंघले सम्बन्धित निकायसँग समन्वय गरी पहल गरिदिन माग गरेको अवधी पत्रकार संघका सचिव बृजेश यादवले बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully