उक्त रकम काठमाडौं विशालनगरस्थित एक इन्टरनेट सञ्चालकको घरबाट चोरी भएको थियो
दाङ — तुलसीपुरका एक युवक ६४ लाख ८१ हजार नगदसहित मंगलबार पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई नगदसहित घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहले बताए ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुली नेतृत्वको टोलीले केसीको गोलौरास्थित घरमा खानतलासी गरी उक्त नोटहरू फेला पारेको उनले जानकारी दिए ।
प्लम्बर पेसामा संलग्न केसी सोमबार बेलुका मात्रै काठमाडौंबाट गोलौरास्थित घर आएका थिए । उक्त रकम काठमाडौं विशालनगरस्थित एक इन्टरनेट सञ्चालकको घरबाट चोरी गरेको प्रहरीले जनाएको छ ।
सिसिटिभी फुटेजमा रकम चोरी गर्दै गरेको भिडयो देखिएपछि त्यही भिडियोको आधारमा प्रहरीले सूचना प्राप्त गरी राति नै केसीको घर पहिचान गरेको थियो । केसीलाई नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको डीएसपी शाहले बताए ।
