उनीहरुले नेटवर्किङ विजनेसकाे माध्यमबाट अनलाइन जागिरमार्फत रकम कमाउन सकिने भन्दै थरीथरी प्रलोभन देखाएर विभिन्न समयमा उक्त रकम ठगी गरेका थिए ।
गुल्मी — अनलाइन जागिरबाट पैसा कमाउने प्रलाेभन देखाएर झण्डै २७ लाख ठगी गरेकाे आरोपमा दुई जना पक्राउ परेका छन् ।
धुर्काेट गाउँपालिका-३ की एक महिलाको २६ लाख ९६ हजार हजार ठगी गर्ने पर्साकाे वीरगन्ज उपमहानगरपालिका- २१ का २६ वर्षीय श्रवणकुमार पटेल काठमाडौंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी गंगाबहादुर सारुले जानकारी दिए ।
पक्राउ परेका व्यक्तिले नेटवर्किङ विजनेसकाे माध्यमबाट अनलाइन जागिरमार्फत रकम कमाउन सकिने भन्दै थरीथरी प्रलोभन देखाएर विभिन्न समयमा उक्त रकम ठगी गरेका थिए ।
यहीँ ठगी आराेपका अर्का प्रतिवादी कैलाली लम्कीचुहा नगरपालिका-६ का ४७ वर्षीय विष्णुबहादुर रावल यसअघि पक्राउ परिसकेका छन् । याे घटनामा संलग्न अन्य केहीकाे खाेजी भइरहेको डीएसपी सारुले बताए ।
