प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कांग्रेसले महामन्त्री गगन थापासहित ४ जना र नेपाली कम्युनिष्ट पार्टीले संयाेजक पुष्पकमल दाहालसहित ५ जनाको नाम सिफारिस गरेको छ ।
What you should know
रोल्पा — फागुन २१ काे प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार छनौट गरेर केन्द्रमा पठाएका छन्।
दुवै दलले आउँदो माघ ११ मा हुने राष्ट्रिय सभा र फागुन २१ मा हुने प्रतिनिधि सभाका उम्मेदवार बनाउन सिफारिस गरेका हुन्।
प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कांग्रेसले महामन्त्री गगन थापासहित ४ जना र नेकपाले पार्टीका संयाेजक पुष्पकमल दाहालसहित ५ जनाको नाम सिफारिस गरेको छ ।
एक निर्वाचन क्षेत्र रहेको रोल्पाबाट कांग्रेसले पार्टीका महामन्त्री गगन थापा, लुम्बिनी प्रदेश कांग्रेसका सभापति अमरसिंह पुन, विद्यार्थी नेता मनोजमणि आचार्य, व्यापारी ज्ञानबहादुर वली र इन्जिनियर डा मन्दिप पोख्रेलको नाम सिफारिस गरिएको पार्टीका जिल्ला सचिव शेरबहादुर थापाले बताए।
उनका अनुसार रोल्पाबाट नेकपाले संयाेजक दाहाललगायतका नेताको नाम सिफारिस गरेपछि कार्यकर्ताको चाहना अनुसार महामन्त्री थापाको नाम सिफारिस गरिएको हो।
प्रतिनिधिसभा सदस्यका लागि पूर्वसिँचाइ राज्यमन्त्री रहेका प्रदेश सभापति पुन यसअघि दुई पटक उम्मेदवार भइसकेका छन्। नेविसंघका पूर्वमहामन्त्री रहेका आचार्यलाई पनि प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरिएकाे उनले बताए । 'युवा र विद्यार्थी संगठनमा काम गरेको लामो अनुभव छ। सशस्त्र द्वन्द्वको अवधिलाई नजिकबाट बुझेको हुँदा मैले आगामी निर्वाचनमा उम्मेदवार हुने चाहना राखेको हुँ,' आचार्यले भने ।
यस्तै राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले पूर्वजिल्ला सभापति माधवप्रसाद आचार्य र युवा नेता झक्कु घर्ती मगरको नाम सिफारिस गरिएको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ पूर्वसहायक मन्त्री भीमकुमारी बुढा, मानबहादुर खत्री, पुष्पा श्रेष्ठले र मणिकला रानाको नाम सिफारिस गरेको छ।
नेकपा महाधिवेशन आयोजक समिति सदस्य हरिप्रसाद घर्ती मगरका अनुसार प्रत्यक्ष तर्फका उम्मेदवारमा दाहालसहित पूर्वमन्त्री वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र युवा दीपक रोका मगरको नाम सिफारिस गरिएको हो।
समानुपातिक उम्मेदवारका लागि भने कृष्णबहादुर महरा, पवित्रा घर्ती, गीता नेपाली र बाबुलाल पुनको नाम सिफारिस गरिएको हो। पूर्वमाओवादीको गढ रोल्पामा नेपाली कम्युनिस्ट पार्टी पुनर्गठन भएपछि पार्टी अझै बलियो भएको पूर्वमाओवादीका नेता एवं लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनले बताए ।
एमालेले भने उम्मेदवार छनौटकाे कार्य गरिरहेको पार्टीका जिल्ला अध्यक्ष अमृत बुढाले बताए। उनले ११ औं महाधिवेशनपछि जिल्ला तहमा पार्टीको गतिविधि निर्वाचन केन्द्रित गरिएको दाबी गरे।
यस्तै पहिलोपटक निर्वाचनको तयारीमा जुटेको नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपालले पनि जिल्लामा गतिविधि बढाएको छ। रोल्पामा पार्टी महासचिव चन्दलाई नै उम्मेदवार बनाउने वा अन्यत्रबाट सिफारिस गर्ने भन्ने विषयमा गृहकार्य भइरहेकाे नेता धनबहादुर थापाले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि रोल्पामा आफ्ना गतिविधि बढाएको छ। पार्टीका जिल्ला अध्यक्ष रमेश थापाले उम्मेदवार छनौट गर्न आन्तरिक छलफल जारी रहेको र डिजिटल प्रविधिको प्रयोग अपनाइएको बताए ।
