मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका हुन् ।
What you should know
बुटवल — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स्थानीय विषयवस्तुमा सार्थक बहस सिर्जना गर्नु आजको आवश्यकता भएको बताएका छन ।
लुम्बिनी प्रेस क्लबद्वारा आयोजित तेस्रो लुम्बिनी न्यूज फेस्टिवलको आइतबार लुम्बिनीमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले यो फेस्टिवलले पत्रकारिताको भूमिकालाई अझ प्रभावकारी बनाउने विश्वास पनि व्यक्त गरे । मुख्यमन्त्री आचार्यले नेपाल र भारत दुवै देशको विकास र समृद्धिका लागि पत्रकार, निजी क्षेत्र, सामाजिक तथा सांस्कृतिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।
शनिबारबाट सुरु न्युज फेस्टिवलमा भारतका विभिन्न सञ्चारमाध्यमका ४० बढी पत्रकार र नेपालका राष्ट्रिय र मोफसलका सञ्चारमाध्यमका नेतृत्व तहका सञ्चारकर्मीको उपस्थिति रहेको छ । दुवै देशका सञ्चारकर्मीबीच हुने बहस र छलफलले नेपाल र भारतबीचको सम्बन्धलाई पनि थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहने मुख्यमन्त्री आचार्यले बताए । ‘मिडियाबाट नकारात्मक समाचार प्रवाह भए सम्बन्ध कमजोर हुन सक्छ । सकारात्मक र तथ्यमा आधारित समाचारले आपसी सम्बन्ध बलियो बन्छ,' उनले भने, ‘सम्मेलन र संवादले सीमा क्षेत्र र दुई देशको सम्बन्ध सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ ।’
दुवै देशको सह–अस्तित्व स्वीकार गर्दै अघि बढ्नुपर्ने र त्यसले नेपालको पर्यटन व्यवसायलाई पनि सहयोग पुग्ने पनि मुख्यमन्त्री आचार्यले बताए । ‘लुम्बिनी, मुक्तिनाथ र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटनमार्फत आर्थिक समृद्धि हासिल गर्ने प्रयासमा लुम्बिनी सरकार लागिरहेको छ,' उनले भने । समृद्धि र विकासका लागि न्युज फेस्टिवल कोसेढुंगा बन्न सक्ने उनले बताए । मुख्यमन्त्री आचार्यले बुद्ध जन्मभूमि लुम्बिनीको पर्यटन, सांस्कृतिक र सामाजिक विकासमा फेस्टिवलको बहसले नयाँ दिशा दिने पनि उनले बताए ।
दुई दिनसम्म चल्ने कार्यक्रममा विभिन्न तीन सत्रमा छलफल चल्ने छ । त्यसको निष्कर्षका रूपमा लुम्बिनी घोषणापत्र जारी गर्दै सम्पन्न हुने लुम्बिनी प्रेस कल्बका उपाध्यक्ष एवं कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले बताए । कार्यक्रममा लुम्बिनीका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डे, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूका साथै नेपाल र भारतका विभिन्न क्षेत्रका सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।
