हुन्डीसम्बन्धी कारोबारमा जनमत पार्टीका नेता पक्राउ

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ बालुवाटार काठमाडौंबाट प्राप्त जाहेरीका आधारमा नेता शेखलाई पक्राउ गरिएको हो ।

पुस १३, २०८२

रुपा गहतराज

Janmat Party leader arrested in hundi-related transactions

What you should know

नेपालगन्ज — बाँके प्रहरीले हुन्डीसम्बन्धी कारोबारमा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरीले कार्यालय बाँकेले नेता शेखलाई पार्टीको कार्यक्रमका लागि कपिलवस्तु जाने क्रममा दाङको इमिलियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।  

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ बालुवाटार काठमाडौंबाट प्राप्त जाहेरीका आधारमा दर्ता भएको मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन डुडुवा गाउँपालिका वडा नम्बर ६ सुब्बापुर्वाका ४० वर्षीय नेता शेखलाई पक्राउ गरिएको हो । 

प्रहरी नायब उपरीक्षक पातलीका अनुसार अनुसन्धानका क्रममा ४ करोड ९२ लाख ८४ हजार २ सय ९६ रुपियाँ बराबरको शंकास्पद हुन्डीमार्फत अवैध आर्थिक कारोबार गरेको देखिएको छ । 

केवाईसी विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबारबीच ठूलो अन्तर देखिएपछि उक्त गतिविधि हुन्डी तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ)सँग सम्बन्धित हुन सक्ने आशङ्कामा थप छानबिन थालिएको छ ।

सोही मुद्दामा कोहलपुर नगरपालिका वडा नम्बर १४ का विष्णु खटिकसमेत संलग्न रहेको आशंकामा समानान्तर रूपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अध्ययनका क्रममा दुवै जनाको बैंक खातामा ठूलो रकमको टर्नओभर देखिएको र खातामा जम्मा हुने नगदै रकम तुरुन्तै विद्युतीय माध्यमबाट विभिन्न व्यक्ति एवं संस्थालाई रकमान्तर हुने गरेको फेला परेको प्रहरीको भनाइ छ ।

पक्राउ परेका शेष यसअघि जनमत पार्टीमा संलग्न थिए । उनले गत प्रतिनिधिसभाको निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट उम्मेदवारीसमेत दिएका थिए ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully