पाल्पाबाट कांग्रेस, एमाले, नेकपा र रास्वपाले टुंग्याए समानुपातिक उम्मेदवार

हरेक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम सिफारिस गर्नुपर्ने भए पनि आकांक्षीको संख्या बढी भएकाले सर्वसम्मतिमै धेरैको नाम सिफारिस गरिएको छ ।

पुस १२, २०८२

माधव अर्याल

Congress, UML, NCP and Rashtriya Swayamsevak Sangh (RSS) finalize proportional candidates from Palpa

What you should know

पाल्पा — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा जिल्लाबाट कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरेका छन् । कांग्रेसले प्रत्यक्षतर्फसमेत उम्मेदवार सिफारिस गरेको छ भने अन्य दलले समानुपातिकतर्फ मात्र सिफारिस गरेका हुन् ।

एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक महिलातर्फ रैनादेवी छहरा–५, मुझुङ्की मीना जीसी, रम्भा गाउँपालिका–४, हुमीनकी उर्मिला शर्मा, रैनादेवी छहरा–३, भुवनपोखरीकी मीरा मरासिनी,  रम्भा गाउँपालिका–१, हुँगीकी कुविजा बस्याल अर्याललाई उम्मेदवार सिफारिस गरेको छ । यसैगरी आदिवासी जनजातितर्फ  रामपुर नगरपालिका–४, रामपुरकी दुर्गादेवी राना, तानसेन नगरपालिका–३, तानसेनकी सुशीला श्रेष्ठ, पूर्वखोला गाउँपालिका–२, जल्पाकी हिरुसरा रानाको नाम सिफारिस गरेको छ । दलिततर्फ तानसेन नगरपालिका–३, तानसेनका ठाकुरप्रसाद लोहागुन, मुस्लिमतर्फ तानसेन नगरपालिका–५, ढुंगाखानीका अमिनबक्स मिँया र रामपुर नगरपालिका–४, इस्लामपुरकी रोजिरन खातुन रहेको एमाले स्रोतले जनाएको छ । 

नेपाली कम्युनिष्ट पार्टी, पाल्पाले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ पार्वती विक (दलित महिला), विष्णु माया थापा (जनजाति महिला), शान्ता न्यौपाने (खसआर्य महिला), पदम प्रसाद अर्याल (खसआर्य पुरुष), महमद रफि (मुस्लिम पुरुष),  खुमबहादुर कुमाल (जनजाति पुरुष) लाई सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता मथुरा ढकालका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि पनि चार जनालाई सिफारिस गरेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि रामकृष्ण कार्की (खुला), दल बहादुर राना (खुला), दुर्गा कुमारी भण्डारी (महिला) र शान्ता सारु (महिला) लाई सिफारिस गरेको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट खसआर्य रमेश प्रसाद न्यौपाने, जनजातिबाट अर्जुन श्रेष्ठ, दलिततर्फ अविता नेपाली सिफारिस गरिएको पार्टी उपसभापति सुमन गैरेले बताए । न्यौपाने र श्रेष्ठ पूर्व एमाले हुन् भने नेपाली कुनै पनि दलमा खुलेकी थिइनन् । कांग्रेस पाल्पाले समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट कृष्णराज अधिकारीको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट कांग्रेसका पूर्व जिल्ला सभापति राजन पन्त, जिल्ला सचिव सुनिता अधिकारी, मुस्लिम नेता जमिला मियाँ, नेतृ बसन्ती घिमिरेलाई समानुपातिक उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको छ । दुवै क्षेत्रमा क्षेत्रीय समितिका सभापति लगायत पदाधिकारी, सदस्यहरूको सहभागितामा बैठक बसेर सिफारिस गरेको जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । 

कांग्रेसले प्रत्यक्षतर्फ प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटै क्षेत्रबाट सिफारिस गरेको छ । क्षेत्र नम्बर १ बाट सन्दीप रानाको नाम एकल सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट  कांग्रेसले लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर राना, पार्टी सभापति हिमालदत्त श्रेष्ठ, महासमिति सदस्य कृष्णप्रसाद बस्याल, महिला नेतृ मीना पन्थी, महिला नेतृ डा. महेश्वरी कुँवरको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति मुक्तिराम जीसीले बताए ।

हरेक निर्वाचन क्षेत्रबाट तीन जनाको नाम सिफारिस गर्नु पर्ने भएता पनि आकांक्षीको संख्या बढी भएकाले सर्वसम्मतिमै पाँच जनाको नाम सिफारिस गरेको छ । २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको क्षेत्र २ मा उम्मेदवार थिएनन् । पाल्पाका दुईवटै निर्वाचन क्षेत्रमा एमालेबाट क्षेत्र नम्बर १ बाट नारायणप्रसाद आचार्य र क्षेत्र २ बाट ठाकुर गैरेले प्रत्यक्षतर्फ जितेका हुन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully