रिडीदेखि रुन्खादहसम्म भइरहेको काम थप भएर रुन्खादह घुम्तीदेखि राजासम्म स्तराेन्नतिकाे काम अगाडि बढेको हो ।
गुल्मी — मदन भण्डारी राजमार्ग अन्तर्गत रिडी-तम्घास खण्डमा थप डेढ किलोमिटर सडक स्नराेन्नतिकाे काम सुरु भएको छ ।
रिडीदेखि रुन्खादहसम्म भइरहेको काम थप भएर रुन्खादह घुम्तीदेखि राजासम्म स्तराेन्नतिकाे काम अगाडि बढेको हो ।
२०८२ जेठ २५ मा सम्झौता भई १० करोड ८६ लाख रुपैयाँमा १.७४ किलोमिटर सडक निर्माणकाे काम तिरुपाते निर्माण सेवा/ॐ नम जेभी दाङले गरिरहेकाे मदन भण्डारी राजमार्ग याेजना कार्यालय गुल्मीका सूचना अधिकारी हुमनाथ पाैडेलले जानकारी दिए । २०८३ जेठ २५ मा सम्पन्न गर्नुपर्ने उक्त काम हालसम्म पाँच प्रतिशत भाैतिक प्रगति भएको छ ।
सडक फराकिलो गरी डेढ/डेढ मिटर दायाँबायाँ छाडेर बीचमा सात मिटर सडक पक्की हुनेछ । यसअनुसार रिडीदेखि रुन्खादहसम्म काम भइरहेकाे थियाे । अब थप १७ सय मिटरमा काम अगाडि बढेको हो । यसपछि याे खण्डको ४५ किलोमिटर सडकमध्ये २६ किलोमिटर ७ सय मिटर सडक फराकिलोसहित पक्की हुनेछ ।
बाँकी झण्डै १८ किलोमिटर सडकको भने हालसम्म कुनै ठेक्का भएको छैन् । बाँकी सडक सडक डिभिजन कार्यालय मार्फत नै रहेको र ठेक्का भएर काम अगाडि बढेपछि आफ्नो कार्यालय मातहत आउने मदन भण्डारी राजमार्ग याेजना कार्यालय गुल्मीका प्रमुख सिनियर डिभिजन इन्जिनियर रमेश चौधरीले बताए ।
