वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारका सन्ततीलाई शैक्षिक सामग्री वितरण

तानसेन नगरक्षेत्रका छात्रछात्रालाई विद्यालय जाँदा बोक्ने झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ ।

पुस ११, २०८२

माधव अर्याल

Distribution of educational materials to the descendants of families of those who died during foreign employment

What you should know

पाल्पा — पाल्पाको तानसेनमा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका परिवारका सन्ततीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२५ को अवसरमा तानसेन नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका ९ परिवारका ११ जना सन्ततीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

तानसेन नगरक्षेत्रका छात्रछात्रालाई विद्यालय जाँदा बोक्ने झोला, कापी, कलमलगायतका शैक्षिक सामग्री वितरण गरिएको छ ।

तानसेन नगरपालिका–१ का सबिन घर्ती र सन्देश घर्ती, इस्मान सारू, आयुस सुनार, वडा नं. ९ का रोहित मश्राङ्गी, अनमोल भट्टराई, वडा नं. ५ का शुभम खत्री र सोनिका खत्री, वडा नं. ६ का स्वागत खत्री, वडा नं. १० का दिप्सा नेपाली र सुमोना घिमिरेलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

उनीहरूलाई तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठ, उपप्रमुख प्रतिक्षा गाहा सिँजाली, प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीलगायतले शैक्षिक सामग्री वितरण गरेका हुन् ।

नगरप्रमुख श्रेष्ठले तानसेन नगरपालिका सधैँ नगरका बासिन्दाप्रति संवेदनशील रहेको बताए । उनले वैदेशिक रोजगारीमा समस्या परेकालाई समन्वय तथा सहयोग गर्न सामी कार्यक्रम लागू गरिएको र यसबाट धेरै अप्ठ्यारोमा परेका नागरिकले सहयोग पाएको बताए ।

सुरक्षित आप्रवासन सामी कार्यक्रम तानसेन नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ बाट सुरु भएको हो । कार्यक्रमअन्तर्गत सूचना तथा परामर्श सेवा, कानुनी परामर्श तथा कानुनी सहजीकरण, मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको कार्यक्रम अधिकृत दिनेश घिमिरेले बताए ।

जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रबाट सूचना तथा परामर्श सेवा प्रदान गरिँदै आएको छ । स्थापना भएयता हालसम्म १४ हजार १५६ जनालाई वैदेशिक रोजगारीसम्बन्धी परामर्श सेवा दिइएको घिमिरेले बताए । ६२ वटा कानुनी सहजीकरण भएका छन् । जसअन्तर्गत स्वदेश तथा विदेशमा हुने ठगी, अलपत्र परेकाको उद्धार तथा वैदेशिक रोजगारीका क्रममा मृत्यु भएमा परिवारसँग सहजीकरण गर्दै आएको छ । ३९ जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको उनले बताए ।

वैदेशिक रोजगारीको परिवेश, वैदेशिक रोजगारीसम्बन्धी नीतिगत व्यवस्था तथा सामी कार्यक्रमबारे सरोकारवालालाई जानकारीसमेत गराइएको छ । सुरक्षित वैदेशिक रोजगारीका लागि सरोकारवालाको भूमिकाबारे सुरक्षित आप्रवासन कार्यक्रमका जिल्ला कार्यक्रम अधिकृत घिमिरेले जानकारी गराएका थिए ।वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका श्रमिकहरूको सम्झनामा तानसेनमा दीप प्रज्वलनसमेत गरिएको छ ।

तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिँजालीले वैदेशिक रोजगारी नेपाली युवाको बाध्यता बनेको बताइन् । उनले यसलाई सुरक्षित, मर्यादित र सीपमूलक बनाउनुपर्नेमा जोड दिइन् । असुरक्षित यात्रा, ठगी, श्रम शोषण र अकालमै ज्यान गुमाउने घटनाहरू दुःखद् भएको उनले बताइन् ।

हरेक वर्ष डिसेम्बर १८ तारिखका दिन अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाइन्छ । यस दिवसले संसारभरका आप्रवासी श्रमिकहरूको अधिकारको रक्षा गर्ने, उनीहरूको योगदानको कदर गर्ने तथा सबै पक्षलाई सचेत गराउने उद्देश्य राख्दछ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully