बर्दिया निकुञ्जको मुख्यालय, ठाकुरद्वारास्थित घडियाल प्रजनन केन्द्रमा रहेका ४ वर्षका ५ वटा पोथी र ५ भाले गोही बबई नदीको प्राकृतिक बासस्थानमा छाडिएको हो ।
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले बबई नदीमा १० वटा घडियाल छाडेको छ । संघीय वन तथा वातावरण मन्त्रालयका सचिव सचिव गोविन्दप्रसाद शर्माले पूर्वपश्चिम राजमार्गस्थित परेवा ओडारको बबई बाँध नजिक गोही छाडेका छन् ।
बर्दिया निकुञ्जको मुख्यालय, ठाकुरद्वारास्थित घडियाल प्रजनन केन्द्रमा रहेका ४ वर्षका ५ वटा पोथी र ५ भाले गरी १० वटा गोही बबई नदीको प्राकृतिक बासस्थानमा छाडिएको बर्दिया निकुञ्जका सूचना अधिकारी एवं वरिष्ठ सहायक संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । राष्ट्रिय निकुञ्ज विभागका उपमहानिर्देशक बेदकुमार ढकाललगायतको उपस्थितिमा गोही छाडिएको हो ।
घडियाल प्रजनन् केन्द्रमा ठूलो १ सय ५० र सानो ७० वटा रहेका छन् । सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडियाललाई संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत गरेको थियो । नेपालको पश्चिमकै पर्यटकीय गन्तव्यको रुपमा रहेको बर्दिया निकुञ्जमा गोही संरक्षणका लागि गोही प्रजनन केन्द्रको स्थापना गरिएको छ । प्रजनन केन्द्र स्थापना गरिएपछि निकुञ्जमा गोहीको पालन पोषण र स्याहार गर्न थालिएको निकुञ्जले जनाएको छ ।
कर्णाली र बबई नदीको प्राकृतिक बासस्थानमा फेला परेका घाइते गोहीहरु र नदी किनारमा भेटिने गोहीका बेवारिसे अन्डाहरुलाई निकुञ्जको गोही प्रजनन केन्द्रमा राखी उचित स्याहारसम्भार गरिन थालेका कारण गोही संरक्षणमा सहयोग पुगेको छ ।
