सामाजिक अभियन्ता खनालद्वारा अर्घाखाँचीमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

नरपानीको नर्तनाञ्जल पर्वतको डाँडोमा उनले रैथाने गाईको फार्म खोलेका छन् । विभिन्न ठाउँबाट छाडा रैथाने गाई जम्मा गरी तिनको संरक्षण गर्ने उद्देश्यले नरपानीमा ओम श्रीकृष्ण गौशाला सञ्चालनमा ल्याइएको हो ।

पुस ९, २०८२

वीरेन्द्र केसी

Social activist Khanal announces to run as an independent candidate in Arghakhanchi

अर्घाखाँची — आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिन्दु धर्मको प्रचारक सन्धिखर्कका नारायणप्रसाद खनालले अर्घाखाँचीबाट स्वतन्त्र उम्मेदवारी दिने बताएका छन् । सन्धिखर्कमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले अर्घाखाँचीको विकासको नारा अघि सार्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

कतारमा लामो समय रोजगारीमा रहेका उनी १२ वर्षदेखि सन्धिखर्कमै धार्मिक गतिविधि, व्यवसाय र सामाजिक काम गर्दै आएका छन् । उनको पहलमा चुत्रावेशीमा वृद्धाश्रम, सिद्देश्वर शिवालय मन्दिर निर्माण र त्यहाँ संस्कृत पढाइको कक्षा सञ्चालन हुँदै आएको छ । उनको पहलमा कतार लगायतका देशको रेमिट्यान्स र विभिन्न व्यक्तिबाट रकम संकलन गरी ०६५ सालमा करिब दुई करोड लगानीमा निर्माण भएको वृद्धाश्रममा अहिले वृद्धवृद्धा बसेका छन् । 

नरपानीको नर्तनाञ्जल पर्वतको डाँडोमा उनले रैथाने गाईको फार्म चलाएका छन् । विभिन्न ठाउँबाट छाडा रैथाने गाई जम्मा गरी तिनको संरक्षण गर्ने उद्देश्यले नरपानीमा ओम श्रीकृष्ण गौशाला सञ्चालनमा ल्याइएको हो । यहाँ अहिले १ सय ५० भन्दा बढी गाई रहेका छन् । 

पत्रकार सम्मेलनमा खनालले विकासे नारा दिएका छन् । लोप हुन लागेका विभिन्न रैथाने बालीको बीउ संरक्षण, नश्ल संरक्षण, गाउँगाउँमा कृषि उद्यमबाट युवाहरू घरमै बसेर स्वरोजगार बन्ने वातावरण बनाउने उनले दाबी गरे । त्यस्तै जिल्लामा सुविधा सम्पन्न अस्पताल, कलेज, सबैका घरमा खानेपानीको सुविधा, सिँचाइ सुविधा, सडकसहित पूर्वाधार विकास लगायतका काम गर्ने खनालले बताए । ‘लामो समय अर्घाखाँची प्रतिनिधिसभा सदस्यविहीन बन्यो,’ उनले भने, ‘सुशासन र विकासको गति पछाडि पर्‍यो । मैले १२ वर्षदेखि निरन्तर जिल्लामा सामाजिक काम गर्दै सुशासनको कुरा उठाउँदै आएको छु, सांसद बनेर काम गर्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेको हुँ ।’ 

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक र अर्घा भगवती विमानस्थललाई आफूले प्राथमिकतामा राखेको उनले बताए । सहर र गाउँका स्थानीय, शुभचिन्तकले चुनाव लड्न दिएको सल्लाहकै कारण आफूले आउँदो प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने गरी अगाडि बढेको उनले बताए ।

वीरेन्द्र केसी केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully