तिलोत्तमामा पुस १३ र बुटवलमा १४ गतेपछि विद्यालय खुल्ने भएका छन् ।
बुटवल — अत्यधिक चिसो बढेपछि बुटवलका विद्यालय पुस १४ गतेसम्मका लागि बन्द भएका छन् । बुटवल उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै बिहीबारदेखि सोमबारसम्मका लागि सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न नगरप्रमुख खेलराज पाण्डेले निर्देशन दिएका हुन् ।
‘केही दिनदेखि बाक्लो हुस्सु र शीतलहरसँगै अत्यधिक चिसो बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै तीन दिन विद्यालय बन्द गरिएको ब्यहोरा सम्बन्धित सबैका लागि अनुरोध छ ।’ नगर प्रमुख खेलराज पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ । पछिल्लो एक सातादेखि नै तराईमा बाक्लो हुस्सु र शितलहर चल्न थालेको छ । बुधबार बिहानैदेखि शितलहर चलेपछि नगरपालिकाले विद्यालय बन्द गर्न निर्देशन दिएको हो ।
त्यस्तै, तिलोत्तमा नगरपालिकाले पनि पुस ११ गते शुक्रबार एक दिनका लागि बिदा दिएको छ । नगरप्रमुख रामकृष्ण खाँणले बुधबार सूचना जारी गर्दै ‘बाक्लो हुस्सुसहितको शितलहरका कारण विद्यलयमा पठनपाठन क्रियाकलाप सञ्चालन गर्न कठिनाई भएको र विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पुष ११ गते एक दिन वार्षिक बिदाबाट मिलान हुने गरी सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिइएको’ उल्लेख छ ।
