लुम्बिनीलाई ‘साक्षर प्रदेश’ घोषणाको तयारी

७ जिल्लाको साक्षरता दर ९६ प्रतिशतभन्दा बढी, एसईई उत्तीर्ण दर पनि ६२ दशमलव ०६ प्रतिशत रहेको छ ।

पुस ८, २०८२

घनश्याम गौतम

Preparations to declare Lumbini a 'literate province'

What you should know

बुटवल — सबै जिल्ला साक्षर घोषणा भएपछि सिंगो लुम्बिनी प्रदेशलाई नै ‘साक्षर प्रदेश’ घोषणा गर्न लागिएको छ । आउँदो आइतबार दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको सामाजिक विकास मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको छ ।

शिक्षालाई मानव विकासको मुख्य आधार मान्दै, प्रदेशले जीवनपर्यन्त सिकाइ र स्वाभाविक शिक्षालाई प्राथमिकतामा राखेर निरन्तर कार्यक्रम गर्ने गरी साक्षरता घोषणा गर्न लागिएको हो । साक्षरता दर सुधार गरेर, प्रदेशका सबै १२ जिल्ला साक्षर घोषित भएको र उच्च विद्यालय उत्तीर्ण दरमा पनि सुधार भएको छ । लुम्बिनीका १२ मध्ये ७ जिल्लाको साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेपछि साक्षर प्रदेश घोषणा गर्न लागिएको हो ।

सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उपलब्धिका हिसाबले लुम्बिनी प्रदेशका १२ वटै जिल्ला साक्षर घोषणा भइसकेको बताए । ‘पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ, रूपन्देही, बाँके, कपिलवस्तु लगायत जिल्लामा साक्षरता दर ९६ प्रतिशतभन्दा माथि पुगेको छ,’ उनले भने, ‘एसईई परीक्षाको नतिजामा पनि उल्लेखनीय सुधार देखिएको छ । शैक्षिक सत्र २०८० मा ३८ दशमलब ६५ प्रतिशत उत्तीर्ण दर रहेकामा २०८१ मा ६२ दशमलव ०६ प्रतिशत पुगेको छ ।’

साक्षरता दर उच्च भएका स्थानीय तहमा रूपन्देहीका बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र पाल्पाको तानसेन नगरपालिका रहेको उनले बताए । 

सन् २०२४ को तथ्याङ्क अनुसार नेपालको मानव विकास सूचकाङ्क शून्य दशमलव ६२ रहेकामा लुम्बिनी प्रदेशको सूचकाङ्क शून्य दशलमव ६० सहित चौथो स्थानमा रहेको छ । नेपाल सरकारले अघि बढाएको ‘साक्षर नेपाल’ अभियानले १५ वर्षभन्दा माथिका सबै नागरिकलाई न्यूनतम साक्षर बनाउने लक्ष्य लिएको छ ।

मन्त्रिपरिषद्‍बाट स्वीकृत ‘साक्षर नेपाल वर्ष २०७६’ अवधारणाले जीवनपर्यन्त सिकाइको आधार तयार गर्ने स्पष्ट उद्देश्य लिएको थियो । मन्त्री तिमिल्सिनाले मानव विकासको विश्वव्यापी मूल्याङ्कनमा शिक्षा, स्वास्थ्य र प्रतिव्यक्ति आय मुख्य सूचक रहेको बताए । तीमध्ये शिक्षा सबैभन्दा महत्त्वपूर्ण आधार भएको र यसले अन्य सूचकमा समेत सकारात्मक प्रभाव पार्ने उनको दावी छ ।

‘दिगो विकास लक्ष्य हासिल गर्न शिक्षालाई विश्वव्यापी रूपमा प्राथमिकतामा राखिएको छ,’ उनले भने, ‘लुम्बिनी प्रदेशले आफ्नै सामाजिक तथा सांस्कृतिक विविधताबीच उल्लेखनीय प्रगति गरेको छ ।’

दोस्रो आवधिक योजना अनुसार पाँच वर्षमाथिको साक्षरता दर ७८ दशमलव ०८ प्रतिशतबाट ९८ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । साक्षरतालाई सीप र आय आर्जनसँग जोड्ने, विद्यालयबाहिर रहेका बालबालिकाका लागि वैकल्पिक कार्यक्रम विकास गर्ने तथा सामुदायिक सूचना केन्द्र, बालविकास केन्द्र र शिक्षालयको व्यवस्थित विकास र परिचालन गर्ने योजना अघि सारिएको मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसीले बताए । संविधानको अनुसूची ८ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार माध्यमिक शिक्षा, अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रमको जिम्मेवारी स्थानीय तहलाई प्रदान गरिएको छ । 

मन्त्रालयका निमित्त सचिव दिवाकर भण्डारीका अनुसार नेपाल सरकारले युनिसको मापदण्ड अनुसार १५ देखि ६० वर्ष उमेर समूहको ९५ प्रतिशत जनसंख्या साक्षर भएमा उक्त क्षेत्रलाई साक्षर घोषणा गर्ने व्यवस्था गरेको छ । पढ्न-लेख्न सक्ने, सामान्य गणना, दैनिक व्यवहार, बैंकिङ, मोबाइल प्रयोग, समय र मिति बुझ्न सक्ने सीपलाई साक्षरताको आधार मानिएको उनले बताए ।

‘त्यही अनुसार लुम्बिनी प्रदेशमा साक्षरता, जीवनपर्यन्त सिकाइ, अनौपचारिक तथा वैकल्पिक शिक्षाका कार्यक्रम सञ्चालन गरेर साक्षर प्रदेश घोषणाका मापदण्ड पूरा गरिएको छ,’ उनले भने, ‘त्यसका लागि मन्त्रालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, शिक्षा तालिम केन्द्र, लुम्बिनी प्राविधिक विश्वविद्यालय, १२ वटा शिक्षा विकास तथा समन्वय इकाइ, ६ वटा सामाजिक विकास डिभिजन कार्यालय, १ सय ९ वटा स्थानीय तह, प्रदेश स्तरीय मदरसा शिक्षा समन्वय समिति, ४ हजार ४ सय ३९ सामुदायिक विद्यालय, ५ हजार ७ सय २२ सामुदायिक बालविकास केन्द्र र ३ सय २९ सामुदायिक सूचना केन्द्रसँग समन्वय गरिएको छ ।’ साक्षर प्रदेश घोषणा मुख्यमन्त्री चेतनारायण आचार्यले गर्ने उनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully