नेपालगन्जमा नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राठौरले आन्दोलनका नाममा विध्वंश मच्याउन नपाइने बताएका हुन् ।
What you should know
नेपालगन्ज — नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले राज्यका तीनवटै अंग जलाइनु, नेपाली मारिनु, पार्टीका केन्द्रदेखि जिल्लासम्मका कार्यालय ध्वस्त पारिनु कुनै पनि दृष्टिकोणले सही नभएको बताएका छन् ।
नेपालगन्जमा नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै राठौरले आन्दोलनका नाममा विध्वंश मच्याउन नपाइने बताएका हुन् ।
‘यो व्यवस्था संसारकै उत्कृष्ट व्यवस्था हो । भलै यो व्यवस्था हाँक्ने व्यक्ति गलत थिए होलान् । त्यसको विरोध गर्न पाइन्छ । तर, विरोधका नाममा विध्वंश मच्याउन पाइँदैन,’ उनले भने, ‘आज कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका भवन जलाइएको छ । जेनजीका नाममा जेजति जलेको छ, त्यसको जिम्मा पनि जेनजीले नै लिनुपर्छ ।’
पार्टीले १५औं महाधिवेशन र आमनिर्वाचनको तयारीसँगसँगै अघि बढाएको जानकारी दिँदै सिद्धान्त, आस्था र संगठनले जित्ने पार्टी नेतृत्व र कांग्रेसले जित्ने निर्वाचनका लागि तल्लोदेखि माथिल्लो तहसम्मका नेता कार्यकर्ता सक्रिय हुनुपर्ने उनको भनाइ थियो ।
यसैबीच कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले आफू लोकतन्त्रको सिपाही भएको बताएका छन् । उनले पार्टीको आगामी महाधिवेशनमा उप–सभापति पदमा उम्मेदवारी दिने घोषणासमेत गरेका छन् । नेपालगन्जबाट उपसभापति पदमा लड्ने घोषणा गर्दै उनले आफू कुन समूहबाट लड्ने भन्ने विषय पछि टुंगो लाग्नेसमेत बताए ।
कांग्रेसको महाधिवेशनका सन्दर्भमा कुरा गर्दै कांग्रेसका केन्द्रीय नेता सञ्जय गौतमले बलियो कांग्रेसका लागि अधिवेशन अनिवार्य सर्त रहेको बताए । ‘जसरी मान्छेको जीवनमा प्राण जरुरी छ, पार्टी जीवनमा पनि त्यसको प्राण भनेको विचार नै हो । कांग्रेसले बोकेको विचारले नै आज संसार हाँकेको छ,’ उनले भने । सभालाई कांग्रेस बाँके सभापति नारायण गौडेल र सचिव सुधांशु कोइराला पनि संबोधन गरेका थिए ।
