चन्द्रकोट आधारभूत अस्पतालको सेवा प्रवाहलाई बिस्तारै फराकिलो बनाउँदै लैजाने र उपचारबाट बञ्चित ग्रामीण भेगका नागरिकलाई सेवा प्रदान गर्न विशेषज्ञ डाक्टरको उपस्थितिमा नि:शुल्क शिविर राखिएको हो ।
What you should know
गुल्मी — चन्द्रकोट गाउँपालिकाको आयोजना, लायन्स क्लब अफ बुटवल शुभारम्भको प्राविधिक सहयोग र चन्द्रकोट आधारभूत अस्पतालको व्यवस्थापनमा नि:शुल्क बृहत् स्वास्थ्य शिविर गरिएको छ । यस विशेषज्ञ स्वास्थ्य शिविरबाट २ सय १८ जना बिरामी लाभान्वित भएका छन् ।
स्वास्थ्य शिविरमा महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ वरिष्ठ डा. शर्मिला शर्मा, रेडियोलोजिस्ट वरिष्ठ डा. वसन्त शर्मा, हाडजोर्नी नशा तथा मेरुदण्ड रोग विशेषज्ञ वरिष्ठ डा. जयराज शर्मा, डा. विकेश गुप्ता त्यसै गरी जनरल फिजिसियन वरिष्ठ डा. महेशराज घिमिरे, डा. विजेश गुप्ता, बाल रोग विशेषज्ञ डा. सजु अर्याल, जनरल तथा ल्याप्रोस्कोपिक सर्जनतर्फ डा. आशिस मल्ल लगायतका विशेषज्ञ डाक्टरहरूले सेवा प्रदान गरेको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए । शिविरबाट नि:शुल्क आँखा उपचार, ईसीजी, भिडियो एक्सरे र ल्याब परीक्षणसमेत गरिएको थियो ।
साथै चन्द्रकोट आधारभूत अस्पताललाई सीबीसी हेमाटोलोजी एनालाइजर एक थान, ओपीओसीटी एनलाइजर एक थान, सेमीबायोक केमेस्ट्री एनालाइजर एक थान र सेन्ट्रिफ्युज एनलाइजर मेसिन एक थान सहयोग गरिएको थियो । यो सहयोग सत्यवती गाउँपालिका-६ स्थायी घर भई हाल स्वास्थ्य सेवा विभाग टेकु काठमाडौंमा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत वसन्तकुमार श्रेष्ठ र थाप्ले सत्यवती मेडिकल तथा थाप्ले सत्यवती सर्जिकल मैत्रीपथ बुटवलले गरेका थिए । उनीहरूलाई सम्मानसमेत गरिएको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।
चन्द्रकोट आधारभूत अस्पतालको सेवा प्रवाहलाई बिस्तारै फराकिलो बनाउँदै लैजाने र उपचारबाट बञ्चित ग्रामीण भेगका नागरिकलाई सेवा प्रदान गर्न विशेषज्ञ डाक्टरको उपस्थितिमा नि:शुल्क शिविर राखिएको चन्द्रकोट गाउँपालिका अध्यक्ष युवराज केसीले बताए ।
