ठूलो परिमाणमा लागूऔषधसहित चार पक्राउ

भारतीय मोटरसाइकलबाट परासीतर्फ लागूऔषध लैजाँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका–४ लोकपुरवाबाट दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुस ८, २०८२

नारायण शर्मा

Four arrested with large quantity of drugs

नवलपरासी — भारतबाट भित्र्याउँदै गरेको ठूलो परिमाणको लागू औषधसहित प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो भैरहवा शाखा र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रका तीन छुट्टाछुट्टै स्थानबाट लागूऔषध बरामद गरेको हो ।

जिल्ला प्रहरीका सूचना अधिकारी सोमदास ढकालका अनुसार सीमावर्ती नाकाबाट नवलपरासी भित्र्याउँदै गरेको अवस्थामा दुई भारतीय नागरिकसहित चार जना पक्राउ परेका हुन् । उनीहरूबाट विभिन्न जातका ६ हजार २ सय ७२ एप्पुल लागूऔषध बरामद भएको हो । मोटसाइकलबाट लागूऔषध बोकेर ल्याउँदै गरेको अवस्थामा त्यति परिमाणमा लागूऔषध बरामद भएको हो ।

ओसारपसार गर्दा पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–६ पडरीका ३० वर्षीय सहरेदिन अन्सारी जोलाहा र १९ वर्षीय कृष्णकुमार चौधरी रहेका छन् । उनीहरूलाई जिल्ला सदरमुकम रामग्राम नगरपालिकाको पचगावा गाउँबाट पक्राउ गरिएको हो ।

त्यसैगरी भारतीय मोटरसाइकलबाट परासीतर्फ लागूऔषध लैजाँदै गरेको अवस्थामा पाल्हीनन्दन गाउँपालिका–४ लोकपुरवाबाट दुई भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत ठूटीबारी बस्ने २४ वर्षीय रविन सुल र २७ वर्षीय इरसाद अलि छन् ।

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully