तुलसीपुर सडक आश्रित मानवमुक्त उपमहानगर घोषणा

मानव सेवा आश्रमसँगको सहकार्यमा सडक मानवको संरक्षण गरी सडक मानवमुक्त पालिका घोषणा गरिएको हो ।

पुस ६, २०८२

दुर्गालाल केसी

Tulsipur declared a road-dependent human-free sub-metropolitan city

दाङ — तुलसीपुर उपमहानगरपालिकालाई आइतबार सहयोगापेक्षी सडक आश्रित मानवमुक्त पालिका घोषणा गरिएको छ । सडक आश्रित मानवको व्यवस्थापनमा सफलता हासिल गरेकाले एक औपचारिक कार्यक्रम आयोजना गरी यस्तो घोषणा गरिएको नगर प्रमुख टीकाराम खड्काले बताए ।

मानव सेवा आश्रमसँगको सहकार्यमा सडक मानवको संरक्षण गरी सडक मानवमुक्त पालिका घोषणा गर्न सफल भएको उनले बताए । ‘अब कोही पनि मानिस सडकमा बस्नुपर्ने छैन,’ उनले भने, ‘सबै असहायहरुले आश्रय पाउनेछन् ।’

उपमहानगरमा २०७५ सालदेखि सडक मानव उद्धारको अभियान थालिएको थियो । जसका क्रममा रातीमा सडक मानव खोज्ने र उद्धार गर्ने काम नियमित गरिएको तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले जानकारी दिइन् ।

जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको सहभागितामा घोषणा कार्यक्रम गरिएको थियो । कार्यक्रममा सडक मानव उद्धारका लागि नियमित अभियान सञ्चालन गर्ने र उद्धार गरिएका मानिसलाई मानव सेवा आश्रममा आश्रय दिने जानकारी दिइएको छ। घोषणा कार्यक्रमअघि बाजागाजा र झाँकीसहित बजार परिक्रमा गरिएको थियो ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully