रामग्रामका चोक, बजारमा निःशुल्क दाउरा वितरण

जाडो बढेपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले नगरभित्रका मुख्य चोक र बजारमा आगो ताप्न दाउरा वितरण गरेको हो ।

पुस ५, २०८२

नवीन पौडेल

Free firewood distribution in Ramgram's chowks and markets

परासी — पश्चिम नवलपरासीमा केही दिनदेखि जाडो बढेको र दिनभर हुस्सु लाग्न थालेपछि रामग्राम नगरपालिकाले नगरभित्रका चोक चोकमा आगो ताप्न दाउरा वितरण गरेको छ । 

जाडोको कारण जनजीवन प्रभावित हुँदा कामका लागि घर बाहिर हिँड्नुपर्ने नगरवासीका लागि आगो ताप्न दाउरा वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

नगरको मुख्य चोक, बजार क्षेत्र र मानिसको भिडभाड हुने स्थानमा आगो ताप्नका लागि निःशुल्क रूपमा दाउरा वितरण गरिएको रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । 

सार्वजनिक स्थानमा आगो ताप्न पाउँदा दैनिक मजदुरी गर्ने र विपन्न वर्गका स्थानीयलाई सहज हुने भएकाले नगरको १८ वटा वडाको सार्वजनिक स्थानमा आगो बाल्न दाउरा वितरण गरिएको हो । स्थानीय विपद् व्यवस्थापन समितिको बैठकले चोक चोकमा दाउरा वितरण गर्ने, विपन्न नागरिकलाई न्यानो कपडा प्रदान गर्ने निर्णय गरेपछि तत्काले काम सुरु गरिएको हो । रामग्राम नगरपालिकाले अघिल्लो वर्ष पनि आगो ताप्न दाउरा वितरण गरेको थियो । 

पूर्वी र पश्चिम नवलपरासीमा शीत लहर बढेको छ । जसको कारण मुख्य राजमार्गमा हुस्सुको कारण सवारी साधनले दिउँसै बत्ती बालेर हिँड्नुपर्ने बाध्यता छ । जाडो छल्नका लागि सर्वसाधारण चिया पसल र चोकमा आगो तापेर बसिरहेका छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully