प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा पूर्वराज्यमन्त्री रेवतीप्रसाद भुसाल, लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनाल, पूर्वजिल्ला सभापति कमलप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधिहरू डा. मुक्तिराम श्रेष्ठ, डा. जयबहादुर टण्डन, लेखनाथ पोखरेल, जिल्ला उपसभापति बाबुराम भुसाल र ताराप्रसाद श्रेष्ठलाई सिफारिस गरेको जिल्ला सचिव कृष्णप्रसाद खनालले बताए ।
What you should know
अर्घाखाँची — आगामी माघ ११ र फागुन २१ मा हुने राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेस अर्घाखाँचीले प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिक एवं राष्ट्रियसभामा गरी १७ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । सिफारिस पर्नेमा प्रत्यक्षमा ८, समानुपातिकमा ६ र राष्ट्रियसभामा ३ जना रहेका छन् ।
प्रतिनिधिसभा सदस्य प्रत्यक्षमा पूर्वराज्यमन्त्री रेवतीप्रसाद भुसाल, लुम्बिनी प्रदेश सह–महामन्त्री विष्णुप्रसाद खनाल, पूर्वजिल्ला सभापति कमलप्रसाद भुसाल, महाधिवेशन प्रतिनिधिहरू डा. मुक्तिराम श्रेष्ठ, डा. जयबहादुर टण्डन, लेखनाथ पोखरेल, जिल्ला उपसभापति बाबुराम भुसाल र ताराप्रसाद श्रेष्ठलाई सिफारिस गरेको जिल्ला सचिव कृष्णप्रसाद खनालले बताए ।
समानुपातिकतर्फ केन्द्रीय सदस्य एवं पूर्वउपसभामुख पुष्पा गौतम भुसाल सिफारिस भएकी छन् । ०७९ को चुनावमा कांग्रेस, माओवादीसहित पाँच दलीय गठबन्धन हुँदा समेत भुसाल एमालेका टोपबहादुर रायमाझीसँग पराजित भएकी थिइन् । उनी प्रत्यक्षबाट पछि हटेर ‘सेफ जोन’ रोजेकी छिन् । त्यस्तै निर्मला क्षेत्री, दलित महिलाबाट ललिता सुनार, दलित पुरुष मणिराम परियार, खस आर्य राजेन्द्र केसी र विष्णुप्रसाद अर्याल सिफारिस भएका छन् ।
राष्ट्रियसभामा महाधिवेशन प्रतिनिधि डा. रामबहादुर बीसी, पूर्वजिल्ला सभापति पीताम्बर भुसाल र आमन्त्रित पूर्वकेन्द्रीय सदस्य बालकृष्ण पाण्डे सिफारिस भए ।
कांग्रेस केन्द्रले प्रत्यक्षमा दुई पुरुष र एक महिलाको नाम मंसिर २४ भित्र पठाउन जिल्ला कार्यसमितिलाई सर्कुलर गरेको थियो । कांग्रेस युवाहरूले ०५१ सालदेखि हालसम्म उम्मेदवार भएका पुराना नेतालाई फेरि सिफारिस नगरी बिदाइ गर्नुपर्ने, प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभामा एक–एक जनाको नाम सिफारिस गर्न खबरदारी गरेका थिए । दबाबपछि गत बिहीबार र शुक्रबार दुई दिन बसेको जिल्ला कार्यसमिति बैठकबाट उम्मेदवार सिफारिस गर्न रोकिएको थियो ।
सिफारिस भएका मध्ये रेवतीप्रसाद भुसाल, डा. बीसी र पुष्पा हालसम्म सांसद र उम्मेदवार भएका छन् । नयाँ अनुहारका उम्मेदवारलाई युवाले सिफारिस नगर्न दबाब दिएका थिए । रेवती ०४८ र ०५१ को चुनाव जितेर पर्यटन राज्यमन्त्री भए । त्यसपछिका चुनावका लागि उनी सिफारिस मात्रै भए, टिकट पाएनन् । बीसी तीनपटक उम्मेदवार बने । तर, पराजित भए । पुष्पा ०६४ मा तत्कालीन निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भइन् । ०७४ मा समानुपातिक सांसद बनेर उपसभामुख बनिन् । तीनवटा चुनावमा पराजित भइन् । पुष्पाले अहिले समानुपातिक रोजिन् ।
आकांक्षी धेरै भएपछि केन्द्रले तोकेको मापदण्ड विपरीत तोकिएभन्दा धेरै उम्मेदवार सिफारिस गरिएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए । सहमतिका लागि अधिकांश प्रयत्न गरे पनि उम्मेदवारका धेरै आकांक्षी भएकाले सबैको नाम पठाइएको उनले बताए । आफ्नो मागअनुसार सिफारिस नगरेको भन्दै कांग्रेस युवाहरू आक्रोशित भएका छन् । कांग्रेस प्रदेशसभा २ का उपसभापति अर्जुन पोखरेलले जिल्लाले माग सुनुवाइ नगरेपछि केन्द्रमा ज्ञापनपत्र दिन जाने बताए ।
‘हामी कांग्रेसलाई राम्रो बनाउन र जिताउन खोजेका छौं,’ उनले भने, ‘हाम्रो अरु स्वार्थ केही छैन । युवाको माग विपरीत टिकट दिए प्रचारमा हामी हिँड्दैनौं, भोट मात्रै हाल्छौं ।’ आउँदो चुनावमा नयाँ अनुहारलाई उम्मेदवार बनाउनुपर्ने भन्दै निरन्तर जिल्ला कार्यसमितिलाई धर्ना दिएरै खबरदारी गर्नेमा महामन्त्री गगन थापा समर्थित युवाहरू रहेका छन् ।
