रिब्दीकोट गाउँपालिकाले ख्याहा, देउराली, खस्यौली भैरवस्थान, कुसुमखोला, पालुङ्गमैनादीमा दुई दिनसम्म किसानको गोठमै पुगेर गाईभैंसीकाे ‘अल्ट्रासाउण्ड’ मेसिनबाट परीक्षण गरी प्रजनन् विकृतिका साथै बाँझोपन निवारणबारे किसानलाई जानकारी गराइएको हाे ।
What you should know
पाल्पा — जिल्लामा पहिलो पटक ‘अल्ट्रासाउण्ड’ बाट किसानको गोठमै पुगेर चौपायाको प्रजनन् विकृति र बाँझोपन परीक्षण शिविर गरिएको छ ।
रिब्दीकोट गाउँपालिकामा किसानको गोठमै पुगेर गाईभैंसीको प्रजनन् विकृति तथा बाँझोपन परीक्षण गरिएको हो ।
गाउँपालिकाको पशु सेवा शाखा प्रमुख गीता नेपालीले अत्याधुनिक प्रविधिको प्रयोग गरी गाईभैंसीको प्रजनन् विकृति तथा बाँझोपनको परीक्षण गरिएको बताइन् । अल्ट्रासाउण्ड मेसिन बोकेर पशु चिकित्सकहरू गोठमै पुग्दा किसानसमेत दंग छन् । पालिकाले शिविर आयाेजना गरेर पशु प्रजननबारे अनुभवी चिकित्सकमार्फत सेवा प्रदान गरेको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताए ।
शिविरमा परम्परागत विधि भन्दा भिन्न र आधुनिक प्रविधिबाट पशुको गर्भ जाँच तथा बाँझोपनको पहिचान गरिएको हो । रिब्दीकोट–३ खस्यौलीकी कमला नेपालीले घरगोठमै मेसिन बोकेर आएको देख्दा अचम्म लागेको बताइन् ।
उनले गोठमै आएर उपचार गरी औषधिसमेत पाएकोमा खुसी भइन् । ‘हामीले पशुपालन गर्दै आए पनि यस्ता प्रविधिको विकास भएको होला भन्ने थाहा थिएन,’ उनले भनिन्, ‘धेरैले पशुपालन गर्न छाड्दै गएका बेला यस्तो प्रविधिबाट उपचार हुन्छ भन्ने जान्न पाउँदा खुसी लागेको छ ।’
रिब्दीकोट–७ पालुङ्गमैनादी डबकाकी सीता कुँवरले पहिलोपटक नयाँ प्रविधिसहित पशु र चिकित्सकहरू गोठमै आएको देख्दा अचम्म लागेको बताइन् । ‘यसरी मान्छेको भिडियो एक्सरे गरेको जस्तो मैले अहिलेसम्म देखेकी थिइन्,’ उनले भनिन्, ‘दुई वटा गाईलाई कृत्रिम गर्भाधान गरेको थिए । एउटामा गर्भ नबसेको यसरी हेरेपछि थाहा भयो । मान्छेको जस्तै भिडियो एक्सरे गरेको पहिलो पटक देखे ।’
गाउँपालिकाको रिब्दीकोट कृषि परियोजना अन्तर्गत ख्याहा, देउराली, खस्यौली भैरवस्थान, कुसुमखोला, पालुङ्गमैनादीमा दुई दिनसम्म किसानको गोठमै पुगेर दक्ष चिकित्सकबाट पशुको उपचार गर्ने, प्रजनन् विकृतिका साथै बाँझोपन निवारणबारे किसानलाई जानकारी गराइएको हेफर इन्टरनेशनलकी पशु चिकित्सक अंशु प्रधानले बताइन् ।
गाउँपालिकाले किसानलाई अनुदानमा गाईभैंसी पनि वितरण गरेको छ । अनुदानमा वितरण गरिएकासहित किसान आफैले पालेका गाईभैंसीमा देखिएकाे स्वास्थ्य सम्बन्धी समस्या समाधानका लागि हेफर इन्टरनेशनल नेपालले आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाले गाउँगाउँका किसानसँग सहजीकरण गर्दै आएको पशु चिकित्सक चन्द्र रानाले बताए । ‘हामीले पनि किसानको समस्या समाधानका लागि पहल गर्दै आएका थियौं,’ उनले भने, ‘अहिले भिडियो एक्सरे गरेरै किसानको गोठमा पुग्दा फरकपन देखिएको छ ।’ दुई दिनको अवधिमा किसानको गोठमै पुगेर १९ वटा पशुको भिडियो एक्सरे गरी समस्या समाधान गरेको छ ।
शिविरमा हेफर इन्टरनेशनलको तर्फबाट पशु चिकित्सक प्रधान, राष्ट्रिय पशु प्रजनन् केन्द्र बाँकेका पशु चिकित्सक मिलन चौधरी, ग्रामीण आर्थिक विकास संघ रेडका पशु चिकित्सक चन्द्र राना, रिब्दीकोट गाउँपालिका पशु विकास शाखा प्रमुख गीता नेपालीलगायतको टोलीले घरघरमै पुगेर सेवा प्रदान गरेका हुन् । घरमै पुगेकाहरुको मुख्यतया बाँझोपनाको समस्याका साथै प्रजनन् विकृति भएका पशुको उपचार गरिएको हो ।
‘समृद्ध रिब्दीकोट निर्माणको आधार, कृषिमा व्यापक विस्तार’ संकल्पलाई पूरा गर्न कृषि तथा पशुपालनमा पालिकाले वार्षिक करोडौं लगानी गर्दै आएकाे छ । गाउँपालिकाले २०८०/८१ मा १ करोड ५० लाख र २०८१/८२ मा १ करोड ४१ लाख ४३ हजार लगानी गरेको छ । हेफरले २०८०/८१ मा ५२ लाख १० हजार र २०८१/८२ मा ४७ लाख ६३ हजार लगानी गरेको छ । हेफरले शिविर संचालन गर्नुपूर्व गाउँकार्यपालिकाका साथै वडाका पशु विकास शाखाका प्राविधिकसँगसमेत छलफल गरेको थियो ।
