रिडीदेखि रुन्खादहसम्मको अधिकांश सडक पक्की र फराकिलो बनिसकेपछि स्थानीयवासी र सवारी चालकले यात्रा सहज भएको बताएका छन्।
What you should know
गुल्मी — निकै साँघुरो र अप्ठ्यारो घुम्तीका कारण कष्टकर बन्दै आएको सवारी यात्रा अब सहज भएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी-तम्घास पहिलो खण्डको रिडीदेखि रुन्खादहसम्म अधिकांश स्थानमा सडक फराकिलो र पक्की बनेपछि यात्रा सहज बनेको छ ।
यस खण्डमा मदन भण्डारी राजमार्ग याेजना कार्यालय गुल्मीमार्फत समानन्तर इलाट जेभी काठमाडौंले २५ किलोमिटर सडक खण्डको काम गरिरहेको छ । २०७९ फागुन २६ मा सम्झौता भई एक अर्ब ६४ करोड ६० लाखमा २०८२ फागुन २५ सम्म म्याद सकिने गरी काम भएको मदन भण्डारी राजमार्ग याेजना कार्यालय गुल्मीका सूचना अधिकारी हुमनाथ पाैडेलले जानकारी दिए ।
७ मिटर चाैडाइ पक्की हुने यस याेजनाअन्तर्गत दायाँबायाँ डेढ/डेढ मिटर सडक रहनेछ । हालसम्म भाैतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ८० प्रतिशत भइसकेको सूचना अधिकारी पाैडेलको भनाइ छ ।
अधिकांश स्थानमा कालाेपत्र र ढलानमार्फत सडक पक्की बनेको छ । घरटहरा भत्काउने र मुआब्जा वितरण लगायतका कामले बाँकी स्थानमा भने काम भइरहेको छ । उक्त काम मुख्य गरी बलेटक्सार बजार, शृंगा बजार, भेडुवा बजार र वीरवास बजारमा भइरहेको हो ।
हालसम्म बनेकै सडक पक्कीले पनि १५/२० मिनेट समयको यात्रा नजिकिएकाे सवारी चालक अशिम खड्काले बताए । मदन भण्डारी राजमार्ग अन्तर्गत काम चलिरहेको यो पहिलो खण्डले गुल्मी प्रवेशद्वार रुरुक्षेत्र गाउँपालिका र छत्रकाेट गाउँपालिका छिचोलेकाे छ । गुल्मीदरबार गाउँपालिकाकाे सुरुवाती खण्डमा काम भइरहेको छ । यो खण्डले गुल्मीदरबार छिचोल्दै गुल्मी रेसुंगा नगरपालिकासहित गुल्मी सदरमुकाम तम्घास छाेएर छल्दीदेखि सिमलटारी हुँदै साैतामारे पुगेर प्युठान सिमाना छाेएकाे छ ।
यस खण्डमा गाैंडाकाेट-तम्घास खण्ड पुरानै साँघुराे सडक र अप्ठ्यारो घुम्तीसहित अझै पनि सडक डिभिजन कार्यालय पाल्पा मार्फत नै छ । बाँकी खण्डमा भने काम सकिएको र सकिने अवस्थामा छ ।
