दमकडा माविले जिल्लामा पहिलोपटक ५१ सूचक पूरा गरी गुणस्तर चिन्ह पाएको छ, जसपछि विद्यालयलाई आईएसओ सर्टिफाइड बनाउन बाटो खुलेको विद्यालय संयोजकले बताएका छन्।
पाल्पा — पाल्पाको दमकडा माविले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आईएसओ) प्राप्त गरेको छ । विद्यालय सुधारका विभिन्न ५२ सूचकमध्ये कम्तीमा ५१ प्रतिशत सूचक पूरा गरेकाले चिन्ह पाएको हो ।
ग्लोबल क्वालिटी काउन्सिल नेपालका प्रतिनिधि सुदीप शर्मालले तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ, जिल्ला समन्वय समितिका उप–प्रमुख काशिका गैरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्याल, विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटा, विद्यालय संयोजक जीवन आचार्यलाई चिन्ह अंकित प्रमाणपत्र प्रदान गरेका हुन् ।
दमकडा जिल्लामा गुणस्तर चिन्ह पाउने पहिलो विद्यालय भएको छ । विद्यालयले गुणस्तर सुधारका लागि नियमित सात महिनाको मिहिनेत गरेको जनाएको छ । विद्यालय सुधारका ५१ सूचक पूरा गरेपछि तोकिएका सूचकहरुको अनुगमन, मुल्याङ्कन तथा प्रमाणिकरण गरी प्रमाणपत्र प्रदान गरिएको छ । अब पूर्ण आईएसओ सर्टिफाइड विद्यालयको रूपमा घोषणा हुने बाटो खुलेको विद्यालयका संयोजक आचार्यले बताए ।
दमकडा माविमा ९ सय ५० विद्यार्थी र ५० जना शिक्षक तथा कर्मचारी छन् । कक्षाकोठाको भौतिक अवस्था, प्रविधि र शैक्षिक सामग्रीको उपलब्धता राम्रो हुनुपर्ने, पाठ्यक्रम कार्यान्वयन, निर्धारित पाठ्यक्रमको प्रभावकारी शिक्षण र सिकाइ प्रविधि प्रभावकारी हुनुपर्ने लगायत छन् । यस्तै मूल्याङ्कन प्रणालीः विद्यार्थीको मूल्याङ्कन विधि, नतिजा विश्लेषण र सुधारको रणनीति वैज्ञानिक हुनुपर्ने रहेको छ । साथै भिजन र रणनीतिः विद्यालयको दीर्घकालीन लक्ष्य, दृष्टिकोण र गुणस्तर नीतिहरूको स्पष्टता हुनुपर्ने लगायत रहेको र ती कार्यान्वयनमा रहेको विद्यालयले जनाएको छ ।
