रास्ता हाउसबाट २६ थान र अलिम स्टोर्स कस्मेटिक हाउसबाट ३२ थान भेप बरामद गरिएको हो ।
What you should know
पाल्पा — प्रहरीले पाल्पाको तानसेनबाट ५८ थान भेप (इलेक्ट्रिक चुरोट) सहित दुई जना व्यापारीलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले तानसेन नगरपालिका–४, सिल्खानटोलस्थित ३१ वर्षीय राजा सोनी र ५२ वर्षीय अलिम मियालाई नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए ।
सोनीले सञ्चालन गरेको रास्ता हाउस र मियाले सञ्चालन गरेको अलिम स्टोर्समा रित पूर्वक खानतलासी गर्दा भेप बरामद भएको प्रहरीले जनाएको छ । रास्ता हाउसबाट २६ थान र अलिम स्टोर्स कस्मेटिक हाउसबाट ३२ थान फेला पारेको हो ।
दुवै स्थानबाट बरामद भेपका साथै दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल, रुपन्देही पठाइएको छ । पछिल्लो समयमा सजिलै र थरीथरी स्वादमा भेप पाइन थालेपछि प्रयोग गर्ने युवाको संख्या बढ्दै गएको हो ।
फरक–फरक स्वादका कारण युवाको आकर्षण डिस्पोजेवल भेपमा बढिरहेको व्यापारी बताउँछन् । नयाँ स्वादमा आएका भेपको खुद्रा मूल्य २ हजार रहेको व्यापारीहरु बताउँछन् । बिजुलीमा चार्ज गरी क्वायल मात्र फेर्ने भेपको डिभाइस भने डिस्पोजेवलको तुलनामा महंगो रहेको छ ।
लागुऔषधसहित दुई युवा प्रहरी नियन्त्रण
यसैबीच जिल्ला प्रहरी कार्यालय पाल्पाले लागुऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–३, पिपलडाँडा सीतापहाडमा हाइवे चेकिङका लागि खटिएको प्रहरीले लागुऔषधसहित दुई युवालाई नियन्त्रणमा लिएको हो ।
सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग ५ प ८३५५ नम्बरको मोटरसाइकलका चालक कास्कीको पोखरा महानगरपालिका–२५, बस्ने ३० वर्षीय जयदेव विक र सोही मोटरसाइकल पछाडि बस्ने पोखरा महानगरपालिका–२७ बस्ने २७ वर्षीय अजित परियारले लागुऔषध ओसारपसार गरेको भेटिएको हो ।
उनीहरूले डाइजेपाम इन्जेक्सन ४४, बुप्रेनोरफिन इन्जेक्सन ४४ र फेनेर्ग ४४ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । गोप्य सूचनाको आधारमा शंका लागेर जाँच गर्दा बरामद लागुऔषध प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले फेला पारेको हो । मोटरसाइकलको चालक बस्ने सिट खोली हेर्दा सिटमुनि लुकाइराखेको अवस्थामा भेटिएको थियो भने मोटरसााइकल चालक विक र पछाडि बसेका परियारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
