उनले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वडाका दुई जनाका दरले अति गरिब परिवारका सदस्यलाई आफ्नो पारिश्रमिकबाट बिमा गरिदिएको उनले बताए ।
अर्घाखाँची — आर्थिक रुपमा विपन्न र उपचारबाट वञ्चित नागरिकका लागि डा. खगेन्द्र आचार्यले एक वर्षे बिमा गरिदिएका छन् ।
सन्धिखर्कस्थित ओम पोलिक्लिनिकमा कार्यरत डा. आचार्यले मालारानी गाउँपालिका वडा १ देखि ९ सम्मका १८ जना गरिब परिवारका व्यक्तिलाई एकवर्षे बिमा गरिदिएका हुन् । मालारानी गाउँपालिकाको कार्यालयमा उनले बिमा गरिदिएका हुन् ।
उनले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वडाका दुई जनाका दरले अति गरिब परिवारका सदस्यलाई आफ्नो पारिश्रमिकबाट बिमा गरिदिएको उनले बताए ।
‘पोलिक्लिनिमा मैले बिरामी जाँच गरेवापत पाउने पारिश्रमिक मध्येबाट बिमा गरिदिएको हुँ,’ उनले भने, ‘अति गरिब परिवारका सदस्य बिरामी पर्दा पैसा नभएर अस्पतालमा उपचार गर्न नगई घरमै बस्न बाध्य भएको देखें । बिमा भएपछि उपचार गर्न सहज हुन्छ ।’
घरको एक जनाले गरेको बिमाले परिवारका पाँच जना सदस्यले उपचार गर्दा लाभ पाउँछन् । त्यस अनुसार ९० जनाले सेवा लिन सक्छन् । एक जनाको ३ हजार पाँच सयका दरले १८ जनाको बिमा गरिदिँदा ९० हजार रुपैयाँ खर्च भएको आचार्यले बताए ।
