बिदाइ कार्यक्रममा बोल्दै पूर्वप्रधानाध्यापक पोख्रेलले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न निकै मिहिनेत गर्नुपरेको र सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन लामो समय खर्चनु परेको अनुभव सुनाए ।
What you should know
रोल्पा — सदरमुकाम लिबाङस्थित बाल कल्याण माविका प्रधानाध्यापकलाई बाजागाजासहित ससम्मान बिदाइ गरिएको छ। अनिवार्य अवकाश पाएका पूर्वप्रधानाध्यापक मधुसूदन पोख्रेललाई विद्यार्थी, अभिभावक र शिक्षहरूले बुधबार भव्य सम्मानका साथ बिदाइ गरेका हुन् ।
बाजागाजा बजाउँदै प्रधानाध्यापक पोख्रेललाई बजार परिक्रमा गराइएको थियो । उनको सम्मानमा करिब ६० जना शिक्षक र २ हजार ५ सय बढी विद्यार्थीको र्याली आयोजना गरिएको थियो । अभिभावकसहित र्यालीमा आएकाले असल शिक्षक र प्रधानाध्यापक भएको भन्दै उनको पक्षमा नाराबाजीसमेत गरेका थिए । र्यालीपछि विद्यालय प्राङ्गणमा बिदाइ कार्यक्रम आयोजना गरिएको थियो ।
झन्डै ३० वर्ष शिक्षण पेसामा रहेका पोख्रेलको योगदानका बारेमा वक्ताहरूले चर्चा गरेका थिए । नयाँ प्रधानाध्यापक तुलसीप्रसाद श्रेष्ठले विद्यालयको शैक्षिक विकासका लागि पोख्रेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र अब त्यसै गतिमा आफ्नो नेतृत्व पनि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर डाँगीले लामो समयसम्म अध्यापन गरेका पूर्वप्रधानाध्यापक पोख्रेलको योगदान भुल्न नसकिने बताए ।
बिदाइ कार्यक्रममा बोल्दै पूर्वप्रधानाध्यापक पोख्रेलले विद्यालयको शैक्षिक अवस्था सुधार गर्न निकै मिहिनेत गर्नुपरेको र सामुदायिक विद्यालयलाई गुणस्तरीय बनाउन लामो समय खर्चनु परेको अनुभव सुनाए । 'सुरुमा म यस विद्यालयमा आउँदाको शैक्षिक अवस्थालाई सुधार गर्दै आजको जस्तो गुणस्तरीय बनाउन रातदिन खटिएको हुँ । अहिलेको अवस्थासम्म आइपुग्न निकै कठिन संघर्ष गर्नुपरेको छ,' उनले भने ।
पोख्रेल १७ वर्ष प्रधानाध्यापक भएका थिए । विद्यालयको शैक्षिक एवं आर्थिक सुधारको पक्षमा लागेका उनको नेतृत्वमा प्राविधिक शिक्षण समेत सुरु भएको थियो । जिल्लाको जेठोमध्येको उक्त विद्यालयमा पोख्रेलको नेतृत्वमा शैक्षिक विकास सम्भव भएको शिक्षक अभिभावक संघकी सदस्य पवित्रा गुरुङले बताइन् । पोख्रेलको बिदाइको क्रममा अभिभावकले मायाको चिनो प्रदान गरेका थिए । विद्यालयका तर्फबाट सनको औंठी पहिर्याइएको थियो । कार्यक्रममा उपस्थित सबै अभिभावक उनको बिदाइमा निकै भावुक मुद्रामा देखिएका थिए ।
