कतार उड्न भैरहवा आइपुगे खगेन्द्रप्रसाद र रुद्रकली

सोमबार मध्यान्ह चितवनको सौराहाबाट बिदाई भएको हात्तीको जोडीलाई रातभर गाडीमा यात्रा गराएर बिहान भैरहवा पुर्‍याइएको हो ।

पुस १, २०८२

दीपेन्द्र बडुवाल

Khagendra Prasad and Rudrakali arrive in Bhairahawa to fly to Qatar

भैरहवा — नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् ।

सोमबार मध्यान्ह चितवनको सौराहाबाट बिदाई भएको हात्तीको जोडीलाई रातभर गाडीमा यात्रा गराएर बिहान भैरहवा पुर्‍याइएको हो ।

दुबै हात्तीलाई बुधबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार पठाउने तयारी छ । त्यसका लागि हात्तीलाई यहाँ ल्याइएको हो । रातभर यात्रा गराएर बिहान साढे ७ बजेतिर विमानस्थल पुर्‍याइएको थियो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी बिनोदसिंह राउतका अनुसार हात्तीलाई विमानस्थलभित्र सुरक्षित स्थानमा राखिएको छ । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहका अनुसार बुधबार दिउँसो हात्तीलाई भैरहवाबाट कतारका लागि बिदाई गरिने छ । 

त्यसका लागि विमानस्थलमा ‘हयान्डओभर’ कार्यक्रम राखिएको छ । चितवनदेखि भैरहवासम्म खोरमा राखेर हात्ती ल्याउन र यहाँबाट पठाउन आवश्यक तयारी प्रकृति संरक्षण कोषले गरिरहेको छ । 

यहाँबाट हात्ती कतार लैजान बोइङ ७७७ चार्टड कार्गो विमान भैरहवा आउने छ । उक्त जहाज नेपाली समय अनुसार पौने ४ बजे यहाँबाट हात्ती लिएर फर्किने विमानस्थलले जानकारी दिएको छ ।

दीपेन्द्र बडुवाल

Link copied successfully