मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर

पालिकाले तिरिदिन्छन् खर्च, बिरामीले पाउँछन् नि:शुल्क उपचार ।

पुस १, २०८२

सन्तोष महतारा

Free cataract surgery camp

What you should know

गुल्मी — गुल्मीका स्थानीय पालिकाले उपचार खर्च बेहोर्ने गरी आँखा उपचार केन्द्रसँग सम्झौता गरेपछि बिरामीले नि:शुल्क उपचार पाइरहेका छन् ।

पछिल्लोपटक मंगलबार मात्रै कालीगण्डकी गाउँपालिकासँग सम्झौता भएसँगै गुल्मीका १० पालिकाले नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्रसँग सम्झौता गरेका छन् ।

मुसिकोट नगरपालिका र मालिका गाउँपालिका यो सम्झौताबाहिर छन् । यद्यपि शिविरमार्फत सेवा दिइरहेका यी पालिका पनि सम्झौताको तयारीमा छन् । मदाने गाउँपालिकामा सम्झौताको मिति टुङ्गिन मात्रै बाँकी छ ।

पालिकासँग साझेदारी गरेर बिरामीको शुल्क पालिकाले तिर्न थालेपछि स्वयं बिरामीले नि:शुल्क शल्यक्रिया उपचार पाउँछन् ।  सदरमुकाम तम्घासमा प्रत्येक महिना ११ र १२ गते बिरामीको लुम्बिनी नेत्र विज्ञान तथा अनुसन्धान केन्द्र भैरहवाका वरिष्ठ आँखा विशेषज्ञबाट शल्यक्रिया उपचार हुँदै आएको छ ।

पछिल्लो समय नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मी र कालीगण्डकी गाउँपालिकाबीच सम्झौता भएको आँखा उपचार केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले बताए ।   

कालीगण्डकी गाउँपालिकाका तर्फबाट अध्यक्ष बेदबहादुर थापा र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद मरासिनीसहित आँखा उपचार केन्द्रका तर्फबाट नेपाल  नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद श्रेष्ठ र सचिव पदमप्रसाद पाण्डेसहितको सहभागितामा सम्झौता भएको हो । जसअनुसार माघ २१ र २२ गते  कालीगण्डकी गाउँपालिकामा बृहत् आँखा जाँच तथा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर संचालन हुनेछ ।

नेपाल नेत्र ज्योति संघ  र कालीगण्डकी गाउँपालिकाको सहकार्यमा गत असारदेखि पुर्तिघाटमा आँखा उपचार केन्द्र सञ्चालनमा समेत रहेको छ ।

सम्झौताअनुसार आँखा उपचार केन्द्रमा स्वास्थ्य बिमा भएका ज्येष्ठ नागरिकको निःशुल्क, स्वास्थ्य बिमा भएका अन्य बिरामीको २० प्रतिशत मात्रै र अन्य बिरामीको प्रतिबिरामी ७ हजार रुपैयाँ पालिकाले तिर्ने सम्झौता पालिकासँग भएपछि बिरामीले निःशुल्क उपचार पाएका छन् ।

यो सम्झौतामा यसअघि रेसुङ्गा नगरपालिका, इस्मा, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र र सत्यवती गाउँपालिका थिए । केही समयअघि मात्रै कालीगण्डकी र धुर्कोट  गाउँपालिका जोडिएका छन् । आँखा उपचार केन्द्रमा प्रत्येक महिना ११, १२ र १३ गते आँखाको शल्यक्रियासम्बन्धी उपचार हुने गर्दछ । यी ३ दिन आँखा जाँच, शल्यक्रिया र डिस्चार्ज हुने गर्दछ ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाबासी नागरिकको आँखाको उपचारमा संवेदनशील हुँदै उपचार केन्द्र, शिविर र तम्घासमै पनि नि:शुल्क उपचारको व्यवस्था मिलाएक‍ो बताए । उनले बिरामीलाई उपचार सेवा लिनका लागि अनुरोधसमेत गरेका छन् ।

सन्तोष

Link copied successfully