बरामद भएको कफीको मूल्य २२ लाख ४४ हजार र ओसारपसारमा प्रयोग भएको ट्याक्टरको मूल्य ८ लाख रहेको छ ।
परासी — पश्चिम नवलपरासीमा भन्सार छलि गरेर ल्याउँदै गरेको २० क्विन्टल कफीको दाना सशस्त्र प्रहरीले बरामद गरेको छ ।
जिल्लाको सरावल गाउँपालिका–७ गणेशपुर नजिकै नेपाल भारत–सीमा नजिकै ३४ वटा बोरामा राखेर ल्याउँदै गर्दा मंगलबार बिहान साढे ४ बजे २ हजार ४० किलो कफीको दाना बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटरका सशस्त्र प्रहरी उपरीक्षक संतोष रायमाझीका अनुसार बरामद भएको कफीको मूल्य २२ लाख ४४ हजार र ओसारपसारमा प्रयोग भएको ट्याक्टरको मूल्य ८ लाख रहेको छ ।
बरामद भएको सामान र सवारी महेसपुर भन्सार कार्यालयमा बुझाइएको छ । रातीको समयमा ट्याक्टर प्रयोग गरेर भारतबाट राजस्व छली गरेर नेपाल ल्याउँदै गर्दा सामान बरामद भएको हो ।
