युवाहरूको अग्रसरतामा अटिजमसम्बन्धी तालिम

घरमै गर्न सकिने थेरापी, दीर्घकालीन चुनौती र व्यवस्थापन रणनीति तथा हेरचाहकर्ताको स्व–हेरचाहजस्ता विषयमा छलफल केन्द्रित छ ।

मंसिर २९, २०८२

रुपा गहतराज

Youth-led autism training

नेपालगन्ज — अटिजमप्रति बुझाइ बढाउँदै बालबालिकालाई स्वीकार्ने र सशक्त बनाउने उद्देश्यसहित नेपालगन्जमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नेपालगन्जमा अटिजम भएका बालबालिका, अभिभावक तथा हेरचाहकर्तालाई लक्षित गरी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना  गरिएको हो। नेपालगन्जमा सामाजिक कार्य गरिरहेका युवाहरुको अग्रसरतामा  कार्यक्रम गरिएको हो।

आयोजक नेपालगन्ज स्विमिङ क्लबका वरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीका अनुसार सोमबा‍रदेखि नेपालगन्जमा सञ्चालन  भएको कार्यक्रम अटिजमसम्बन्धी ज्ञान, सीप र व्यावहारिक उपायमा केन्द्रित  रहेको छ । मंगलबार पनि चल्ने यो कार्यक्रममा अटिजम बुझ्ने, स्वीकार्ने र अभिभावकलाई सशक्त बनाउने प्रयास हुनेछ ।

‘बाँकेमा अटिजम भएका बालबालिकाको अवस्थामा खासै कसैले ध्यान दिएको देखिएन,’ अधिकारीले भने, ‘अझै अटिजम भएका बालबालिकाका अभिभावकको अवस्था त झनै कष्टकर पो छ, त्यसैले पनि यो कार्यक्रम निकै महत्त्वपूर्ण छ ।’

कार्यक्रममा अटिजम स्पेक्ट्रम डिसअर्डरबारे विस्तृत छलफल, व्यवहार व्यवस्थापनका उपाय, घरमै गर्न सकिने थेरापी (भाषा, संवेदनशीलता, व्यवहार समर्थन तथा दैनिक क्रियाकलाप), दीर्घकालीन चुनौती र व्यवस्थापन रणनीति तथा हेरचाहकर्ताको स्व–हेरचाहजस्ता विषयमा छलफल गरिएको छ ।

‘मनोवैज्ञानिक तथा ईसीडी परामर्शदाता, एबीए र सीबीटी थेरापी प्राक्टिसनर प्रिसिमा थापा (आसिषा) ले सहजीकरण गर्ने कार्यक्रम निःशुल्क रहेको छ,’ वरिष्ठ उपाध्यक्ष अधिकारीले  भने, ‘बिहान साढे १० बजेदेखि साँझ ४ बजेसम्म कार्यक्रम चल्नेछ  ।’

कार्यक्रमलाई आकार फाउण्डेसन मोरङ नेपालले सहयोग गरेको छ भने लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र लायन्स क्लब अफ नेपालगन्ज युथ सहकार्यमा छन् ।

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully