भियतनामी विहारद्वारा लुम्बिनी विकास कोषलाई बुद्ध मूर्ति प्रदान

धातुबाट निर्मित पूर्णकदका आकर्षक मूर्तिहरूमा सुन र चाँदीको लेपन गरिएको छ ।

मंसिर २९, २०८२

मनोज पौडेल

Vietnamese monastery donates Buddha statue to Lumbini Development Fund

लुम्बिनी — लुम्बिनी विकास कोषलाई पाँच वटा बुद्ध मूर्ति प्रदान गरिएको छ । भियतनामको समुद्री उपभोग्य वस्तु उत्पादन तथा निर्यात गर्ने कम्पनी विन्ह होआङ भान्दुक कम्पनी र सोन थोङ विहारद्वारा ती मूर्ति प्रदान गरिएको हो ।

ध्यान मुद्रा, अभय मुद्रा, भूमिस्पर्श मुद्रा, धर्मचक्र मुद्रा र ज्ञान मुद्रामा आसन गरिएका बुद्धका मूर्ति हस्तान्तरण गरिएको हो । धातुबाट निर्मित पूर्णकदका आकर्षक मूर्तिहरूमा सुन र चाँदीको लेपन गरिएको छ । साढे तीन फिट अग्लो र ढाई फिट चौडा पाँच वटै मूर्तिको लागत करिब ५५ हजार डलर रहेको छ ।

यसअघि भियतनामबाट आएका भिक्षुहरूले धार्मिक विधिपूर्वक पूजाआजा गरी बुद्ध मूर्ति अनावरण गरेका थिए । ती मूर्ति भियतनामी भिक्षु तथा विन्ह होआङ भान्दुक कम्पनीकी सञ्चालक खान्ह टुबोङले कोष योजना प्रबन्धक स्मिता भट्टलाई हस्तान्तरण गरेकी हुन् । मूर्ति लुम्बिनीस्थित सङ्ग्रहालयमा राखिएको छ ।

बुद्धको करुणा, मैत्री र सद्भावको भावनाबाट प्रेरित भई भियतनामबाट बुद्ध जन्मस्थल लुम्बिनी आएर मूर्ति हस्तान्तरण गर्नु खुसीको कुरा भएको लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले बताएका छन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully