मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

दुर्घटनामा परी ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको नायब उपरीक्षक कार्कीले जानकारी दिए।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Two people died in a motorcycle accident

What you should know

रूपन्देही — रुपन्देहीमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । भैरहवा–परासी सडक खण्डको रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

दुर्घटनामा परी ओमसतिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय राजु हरिजन र सोही ठाँउ बस्ने २३ वर्षीय रोहित यादवको मृत्यु भएको नायब उपरीक्षक कार्कीले जानकारी दिए। आज बिहान करिब ६ बजे परासीबाट भैरहवातर्फ आउँदै गर्दा ग ११ प ८६२५ नम्बरको मोटरसाइकल रोकिरहेका एचआर ५५ डब्लु ०३१ नम्बरको भारतीय ट्रकमा ठोकिएको थियो । 

गम्भीर घाइते भएका सो मोटरसाइकलमा सवार दुबै जनालाई तत्काल भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज पुर्‍याइए पनि उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए। प्रहरीले दुर्घटनाग्रस्त ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिएको र यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

यसैगरी रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, दरखस्वामा एक जनाको शव पानीमा अर्ध डुबेको अवस्थामा फेला परेको छ । आज करिब सवा ८ बजे स्थानीय बासिन्दाले नारायण सिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षीया एक महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए। 

हालसम्म मृतको नाम, थर र ठेगाना खुल्न सकेको छैन । घटनाको प्रकृती, मृत्युको कारण र मृतक महिलाको पहिचान पत्ता लगाउन थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट विशेषज्ञ टोली खटिएको कार्कीले बताए। 

कान्तिपुर

Link copied successfully