समितिमा महिलासहित दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सहसचिव रहने व्यवस्था छ । अध्यक्षबाहेकका पदाधिकारी सदस्यबाट छानिने छन् ।
बुटवल — नेपाल अर्बुद रोग निवारण संस्था रूपन्देहीको सभापतिमा पुनः खिमबहादुर हमाल चयन भएका छन् । संस्थाको सोमबार बुटवलमा सम्पन्न छैटौं जिल्ला अधिवेशनले हमालको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिका सदस्यमा विना न्यौपाने, बाबुराम विक, प्रजापाल गिरी, गुणनिधि खनाल, तेजनारायण अर्याल, पुनम पौडेल, इन्दिरा पाण्डे, मुक्तिराज पौडेल, भगवता वेलवासे, निमा थारु, उमा थापा, रमेश पराजुली र शैलेका पन्त निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक महेन्द्र पाण्डेले बताए । समितिमा महिलासहित दुई उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सहसचिव रहने व्यवस्था छ । अध्यक्षबाहेकका पदाधिकारी सदस्यबाट छानिने छन् ।
अधिवेशनको उद्घाटनमा संस्थाका केन्द्रीय सदस्य मधुसूदन गैरेले क्यान्सर रोग नियन्त्रण, रोकथाम र जनचेतना अभिवृद्धिमा संस्थाको भूमिका महत्त्वपूर्ण रहेको भन्दै बदलिँदो खानपान र जीवनयापनमा चुनौती पनि थपिएको बताए ।
२०५३ सालमा स्थापना भएको संस्थाले क्यान्सर रोगलाई समाजका लागि गम्भीर चुनौतीका रूपमा लिंदै जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने अध्यक्ष हमालले बताए । संस्थालाई जिल्ला जनस्वास्थ्य कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्ष रून्देहीमा ८ सय २१ जना क्यान्सर रोगी थपिएका छन् ।
आगामी दिनमा क्यान्सर रोगको रोकथाम, समयमै पहिचान र उपचारबारे नागरिकलाई सचेत बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष हमालले बताए ।
