लुम्बिनीमा बढ्दै अवैध हतियारको त्रास, गोली प्रहारबाट एकको मृत्यु, चार घाइते

एक महिनामा २६ वटा हतियार बरामद, संलग्नलाई खोज्दै प्रहरी, ९ जना पक्राउ परेका छन् ।

मंसिर २९, २०८२

घनश्याम गौतम

Fear of illegal weapons growing in Lumbini, one killed, four injured in shooting

What you should know

बुटवल — बर्दियाको राजापुर नगरपालिका–४ मा रहेको हमार थारु रेस्टुरेन्टमा गत आइतबार भएको गोली प्रहारबाट दाङ तुलसीपुर उपमहानगरपालिका–५ का २८ वर्षीय निरज चौधरीको मृत्यु भयो । बिहान ८ बजे नै अचेत अवस्थामा भेटिएका चौधरीलाई नेपालगञ्ज पुर्‍याइए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

राजापुर नगरपालिका–४ स्थित कुखुरा फर्ममा काम गर्ने निरजलाई गोली प्रहार गरेको आरोपमा दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ५१ वर्षीय महावीर चौधरीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ । मृतकको पोस्टमार्टम रिपोर्टमा थारुलाई कानको नजिकै पेस्तोलबाट गोली प्रहार गरेको देखिएको छ । थप अनुसन्धान भइरहेको बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए । 

गत शनिबार पनि दाङको लमहीमा गोली चलेको थियो । लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली चल्दा पसलका कालीगढ १८ वर्षीय दीपक सुनार घाइते भएका थिए । उपचारपछि उनी सामान्य भएका छन् । गोली चलाएको आरोपमा २ जनालाई पक्राउ गरेर अनुसन्धान चलिरहेको छ । घटनामा संलग्न मुख्य शंकास्पद व्यक्ति फरार छन् । 

दाङको लमहीमा होटलमा लुकाई राखेको पेस्तोल पड्किएर शनिबार एक जना घाइते भएका छन् । लमहीको रातो डाँडास्थित रोयल प्यालेस होटलमा लुकाइ राखिएको पेस्तोल पड्किएर होटलका कामदार १८ वर्षीय शिशम गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले बताए । उनका अनुसार एसीमाथि लुकाएर राखिएको पेस्तोल कोठा सफा गर्ने क्रममा पड्किएको हो । गौतमको अवस्था सामान्य छ । 

त्यस्तै गत शुक्रबार नै रूपन्देहीको गैडहवा गाउँपालिका–३ पोहवाचोकस्थित दरबार होटल एण्ड रेस्टुरेन्टबाट एक थान कटुवा पेस्तोल र २ राउण्ड गोलीसहित दुई जना पक्राउ परे । पक्राउ पर्ने भारत सिद्धार्थनगर सदरथाना डिहवाका ५२ वर्षीय रमजान खान र भारत थानाबासी मरचहवाका ४२ वर्षीय सञ्जय पासी रहेका छन् ।

प्रहरीले खानबाट २ कटुवा पेस्तोल, २ काटिज र ५ गोली बरामद गरेको थियो । केही दिनअघि बाँकेको नेपालगञ्ज बसपार्कमा ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल बेबारिसे अवस्थामा फेला परेको थियो । बाँके प्रहरीले पेस्तोल फेला परे पनि कुनै अप्रिय घटना नभएको र पेस्तोल राख्ने व्यक्तिको खोजी भइरहेको जनाएको छ । 

आइतबार पाल्पाको तानसेन नगरपालिका–९, डाँडाडुमका ६९ वर्षीय हुमबहादुर सोमैलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट माडीबाट खटिएको प्रहरी टोलीले सोमैलाई बन्दुकसहित नियन्त्रणमा लिएको हो । सोमैलाई अवैध भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमबहादुर चौधरीले बताए । 

गत शनिबार नै कपिलवस्तुको चन्द्रौटाबाट प्रहरीले एक जनालाई कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको थियो । डाँका मुद्दामा अदालतबाट कैद सजाय तोकिएका ती व्यक्तिलाई प्रहरीले घरबाटै पक्राउ गरेको थियो । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हतियार फेला परेका र साना हतियारको प्रयोगबाट मृत्यु र घाइते भएका यी पछिल्ला १५ दिनका घटना हुन् । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले उपलब्ध गराएको घटना विवरणले पछिल्ला दिनमा लुम्बिनी प्रदेशका तराईका जिल्लामा साना हतियारको प्रयोग बढ्दो देखिएको छ । अवैध साना हतियारको प्रयोग र त्यसबाट सिर्जित त्रासले सामाजिक असरसँगै नजिकिँदो प्रतिनिधि सभाको निर्वाचनलाई पनि असर पार्ने देखिन्छ ।निर्वाचनका लागि पनि साना हतियारले चुनौती थपिरहेको छ ।

साना हतियार, कारागारबाट फरार कैदीबन्दीको त्रासले पनि चुनावी माहोलको चुनौती बढिरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पछिल्लो समयमा फेला परेका र प्रयोग भएका हतियारहरू भारतको खुला सीमाका कारण भित्रिएको देखिन्छ ।

खुला सीमाकै कारण कात्तिक अन्तिम साता भैरहवाको चारतारे होटल निर्वाणामा ग्राहकबीच भएको झगडामा पनि गोली नै प्रहार भयो । घटनामा संलग्न व्यक्ति र हतियार अहिलेसम्म पनि फेला परेको छैन । त्यसले व्यवसायीसमेत असुरक्षित र त्रासमै छन् । 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले रूपन्देही, दाङ, बाँके, नवलपरासी र कपिलवस्तु जिल्लालाई सुरक्षा दृष्टिकोणले अति संवेदनशील जिल्लाका रूपमा राखेको छ । पछिल्लो समय बर्दिया र दाङमा पनि अवाञ्छित गतिविधि बढ्दै गएको लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक राजेन्द्रप्रसाद भट्टले बताए । ‘तराईका केही जिल्लाका पछिल्लो घटनाक्रमले हामी गम्भीर बनेका छौं,’ उनले भने, ‘नेपाल प्रहरीले अन्य सुरक्षा निकाय र भारतीय प्रहरीसँग पनि समन्वय गरेर साना हतियार खोज्ने तथा हतियार भित्रिने ठाउँहरूमा चेकजाँचमा कडाइ एवं निगरानी गर्ने काम गरिरहेका छौं ।’ पक्राउ परेकाहरूबाट पनि थप अनुसन्धान भइरहेको उनले बताए । 

घटनामा संलग्नहरूमा भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन र प्रदर्शनका क्रममा विभिन्न कारागारबाट फरार भएकाहरूको संलग्नताको आशंकामा प्रहरीले उनीहरूको खोजी तीव्र पारेको छ । लुम्बिनी प्रदेशबाट झण्डै १ हजार ७ सय कैदीबन्दी फरार भएका थिए । तीमध्ये ५ सय बढी अझै फरार छन् ।

लुम्बिनी प्रदेशमा खुला सिमाना नै सामाजिक सुरक्षा र निर्वाचनको वातावरण तयार गर्न मुख्य चुनौती देखिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी वरिष्ठ उपरिक्षक शारदाप्रसाद चौधरीले बताए । ‘चोरी, लुटपाट र आपराधिक गतिविधिमा साना हतियारको प्रयोग भएको देखिन्छ,’ उनले भने, ‘तराईका जिल्लामा त्यस्ता घटना बढेपछि अहिले त्यही अनुसारको सुरक्षा रणनीति तयार गरेर खोजी र निगरानी बढाएका छौं ।’ फरार अपराधीहरूको खोजी पनि तीव्र पारिएको उनले बताए । प्रहरीले अहिलेसम्म विभिन्न आकारका २६ वटा हतियार बरामद गरेको चौधरीले बताए । तीमध्ये ६ वटा पेस्तोल रहेका छन् ।

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully