भियतनामी विहार र कम्पनीद्वारा विद्यार्थीलाई साइकल वितरण

विद्यालयसम्म सहज पहुँच बढाई पठनपाठनलाई सहयोग पुर्‍याउन कक्षा ७ देखि ११ सम्म पढ्ने बालबालिकालाई १ सय साइकल वितरण गरिएको आयोजकले जनाए ।

मंसिर २८, २०८२

मनोज पौडेल

Vietnamese monastery and company distribute bicycles to students

लुम्बिनी — बुद्ध जन्मस्थल लुम्बिनीमा एक सय जना विद्यार्थीलाई साइकल वितरण गरिएको छ । अखण्ड शान्ति दीपमा आयोजित एक कार्यक्रमका बीच रूपन्देही र कपिलवस्तुका १० आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार साइकल वितरण गरिएको हो ।

भियतनामको समुन्द्री उपभोग्य बस्तु उत्पादन र निर्यात गर्ने विन्ह होआङ भान्दुक कम्पनी र सोन थोङ विहार भियतनामद्वारा गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई साइकल वितरण गरिएको हो । 

रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र कपिलवस्तुको शुद्धोदन गाउँपालिकाका १० आधारभूत विद्यालयका ७० छात्रा र ३० छात्रले साइकल पाएका छन् । विद्यालयसम्म सहज पहुँच बढाई पठनपाठनलाई सहयोग पुर्‍याउन ७ देखि ११ कक्षासम्म पढ्ने बालबालिकालाई १ सय साइकल वितरण गरिएको आयोजकले जनाए । कम्पनी संचालक खान ट्रुवोङ र भियतानामका भिक्षुले विद्यार्थीलाई साइकल वितरण गर्न पाउँदा बुद्ध जन्मस्थल लुम्बिनीमा आध्यात्मिक पुण्य संचय गरेको प्रतिक्रिया दिए । 

कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले बुद्धको करुणा, मैत्री र सद्भावको भावनाले उत्प्रेरित भई भियतनामबाट लुम्बिनी आएर नेपाली बालबालिकालाई सहयोग गरेकामा हृदयदेखि नै धन्यवादको पात्र भएको बताए ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully