अस्थायी प्रहरी पोष्ट माडीफाँटबाट खटिएको प्रहरी टोलीले सोमैलाई नियन्त्रणमा लिएको हो ।
पाल्पा — पाल्पाको तानसेन नगरपालिका–९, डाँडाडुमका ६९ वर्षीय हुमबहादुर सोमैलाई अवैध भरुवा बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
अस्थायी प्रहरी पोष्ट माडीफाँटबाट खटिएको प्रहरी टोलीले सोमैलाई नियन्त्रणमा लिएको हो । उनले आफ्नै जग्गामा अवैध भरुवा बन्दुक घाममा सुकाइराखेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमबहादुर चौधरीले बताए । उनका अनुसार सोमैमाथि अनुसन्धान भइरहेको छ ।
यसैबीच पाल्पा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी पाल्पा जिल्ला अदालत पठाएको छ । जिल्ला अदालतको फैसला आदेशले ज्यानसम्बन्धी कसूर मुद्दामा १ महिना १७ दिन कैद र ५ सय जरिवाना असुलउपर गर्न बाँकी रहेका तानसेन नगरपालिका–७, बस्ने ५५ वर्षीय नविन थापालाई नियन्त्रणमा लिएर अदालत पठाएको प्रहरीले जनाएको छ ।
यस्तै हातहतियार तथा खरखजाना कसुर मुद्दामा ५ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी रहेका तिनाउ गाउँपालिका–२, बस्ने ४० वर्षीय जीवन विकलाई प्रहरीले नियन्त्रण लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार फेला पारेको जनाएको छ । आवश्यक कारबाहीको लागि पाल्पा जिल्ला अदालतमा पेस गरिएको सूचना अधिकारी चौधरीले बताए ।
