निस्दी जिप दुर्घटना :  दुई मृतकको पहिचान खुल्यो 

दुर्घटनामा मृत्यु हुनेमध्ये निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओमकुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेमकुमारी सारुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मंसिर २६, २०८२

माधव अर्याल

Nisdi jeep accident: Two deceased identified

What you should know

पाल्पा — पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा भएको जिप दुर्घटनाका दुई जना मृतकको पहिचान खुलेको छ । एक जनाको अझै पहिचान नखुलेको प्रहरीले जनाएको छ । रामपुर–मित्याल–अरुणखोला सडकखण्डअन्तर्गत निस्दी गाउँपालिका–४, मित्याल च्युरीबासनजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु हुनेमध्ये निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओमकुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेमकुमारी सारुको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । थप एक जनाको पहिचान खुल्न बाँकी रहेको छ । 

दुर्घटनामा आठ यात्रु घाइते भएका छन् । सबै घाइतेहरूलाई उद्धार गरी नवलपुरको डण्डास्थित प्रादेशिक अस्पताल पठाइएको छ । नवलपुरको महेन्द्र राजमार्गस्थित अरुणखोलाबाट पाल्पाको रामपुरतर्फ आउँदै गरेको अवस्थामा शुक्रबार बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होम प्रकाश चौधरीले जानकारी दिएका छन् ।

सदरमुकाम तानसेनदेखि ७५ किलोमिटर टाढा भएको दुर्घटनाको प्रारम्भिक विवरण अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । कच्ची सडक उकालो भएको र जिपले तान्न नसकेपछि यात्रु ओराल्ने क्रममा जिप ब्याक भएर दुर्घटना भएको प्रारम्भिक जानकारी पाएको प्रहरीले जनाएको छ ।

 दुर्घटनाग्रस्त जिप सडकबाट झन्डै एक किलोमिटर तल खोल्सामा खसेको छ । यहाँ ठाडो गग्रेटोसहितको उकालो रहेको छ । मित्याल अरुणखोला चल्ने अधिकांश जिपले क्षमताभन्दा दोब्बर यात्रु बोक्ने र छतमा समेत राख्ने स्थानीय बासिन्दाले जानकारी दिएका छन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully