१० जनाको समूह लिएर पुगेका एक व्यक्तिले आफू नेपाल कम्युनिस्ट पार्टी बहुमतको कार्यकर्ता भएको बताउँदै पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेडका योजना प्रमुख महेन्द्र थापामाथि दुर्व्यवहार गरेका थिए ।
परासी — पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनी लिमिटेडले सुरक्षा प्रत्याभूतको माग गरेको छ । कार्यालयका योजना प्रमुख महेन्द्र थापामाथि मंसिर ११ गते कार्यालयमा आएर धम्की तथा दुर्व्यवहार गरिएको भन्दै कम्पनीले सुरक्षाको प्रत्याभूति नभएसम्म अनिश्चितकालीन रूपमा कार्यालय बन्द गरिने जनाएको छ ।
आवास कम्पनीका योजना प्रमुख महेन्द्र थापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै दुर्व्यवहार गर्ने व्यक्तिलाई कारबाही नभएसम्म कार्यालयको कामकाज नै ठप्प पार्ने बताए ।
१० जनाको समूह लिएर पुगेका एक व्यक्तिले आफू नेपाल कम्युनिस्ट पार्टी बहुमतको कार्यकर्ता भएको बताउँदै थापामाथि दुर्व्यवहार गरेका थिए । उनीहरूले कार्यालय प्रमुख थापाले भ्रष्टाचार गरेको तथा अनियमितता गरेको आरोप लगाउँदै विज्ञप्ति नै जारी गरेका थिए ।
कर्मचारीहरूले शान्ति–सुरक्षामा असर पुर्याउने यस्ता गतिविधि तत्काल रोक्न तथा घटनामा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित सबै सरोकारवालालाई जानकारी गराउँदै आवश्यक कारबाहीको माग पनि गरेका छन् ।
