शिविरमा भिडियो एक्सरे, प्रजनन स्वास्थ्य सेवा, स्त्री रोग शिविर तथा परामर्श सेवा लिन सबैभन्दा धेरै नागरिकको उपस्थिति रहेको थियो ।
What you should know
पाल्पा — रम्भा गाउँपालिकाले वडा तहबाट सेवा प्रवाह गर्ने उद्देश्यले शुक्रबारदेखि सुरु गरेको पाँच दिने एकीकृत घुम्ती शिविरमा पहिलो दिनमै ८ सय नागरिकले सेवा लिएका छन् । गाउँपालिकाले आफ्ना नागरिकलाई पायक पर्ने स्थानमा पुगेर आवश्यक सेवा प्रवाह गर्ने गरी एकीकृत शिविर संचालन गरेको हो ।
वार्षिक बजेट व्यवस्थापन गरी विगतदेखि नै संचालन गर्दै आएको शिविरको प्रभावकारितालाई मध्यनजर गरी निरन्तरता दिइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । ‘गाउँपालिकाले प्रदान गर्दै आएको सेवालाई एकै स्थानबाट उपलब्ध गराउने गरी संचालन गरेका छौं,’ उनले भने, ‘यसले गर्दा नागरिकले घरदैलोमै सेवा पाएको महसुस भएको छ ।’
शनिबार ५ नम्बर वडाको रम्भा माध्यमिक विद्यालय ताहुँमा, आइतबार २ नम्बर वडाको वडा कार्यालय, सोमबार १ नम्बर वडाको वडा कार्यालय र मंगलबार ३ नम्बर वडाको पीपलडाँडा खोकखोलास्थित स्वास्थ्य चौकी भवनमा चल्ने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए ।
शिविरमा भिडियो एक्सरे, प्रजनन स्वास्थ्य सेवा, स्त्री रोग शिविर तथा परामर्श सेवा लिन सबैभन्दा धेरै नागरिकको उपस्थिति रहेको उनले बताए । आँखा उपचार, निःशुल्क औषधि वितरणमा पनि भीड लागेको थियो । आयुर्वेद सेवा लिनेहरू पनि बढेका छन् ।
शिक्षा, कृषि, पशुपन्छीका रोगका लागि परामर्श एवं आवश्यक औषधि वितरणमा भीड लागेको सूचना अधिकारी सुरज पाठकले बताए । ‘प्रदेश, स्थानीय र वडा तहका योजनाको सम्झौता गर्नेहरू अझ बढी खुसी देखिए,’ उनले भने ।
अपांगता भएका, ज्येष्ठ नागरिक, गरिब परिचयपत्र वितरण गरिएको छ । हुमीनमै डाक्टरसहितको स्वास्थ्य जाँचले सेवाग्राहीको भीड लाग्यो । भिडियो एक्सरे सेवा, ल्याब, प्रजनन स्वास्थ्य सेवा, स्त्री रोग विशेषज्ञ सेवा, व्यवसाय दर्ता, ज्येष्ठ नागरिक र गरिब परिचयपत्र वितरण लगायतका सेवा प्रदान गरेको रम्भा गाउँपालिका जनस्वास्थ्य निरीक्षक महेशप्रसाद आचार्यले बताए ।
शिक्षा शाखाअन्तर्गत गरिब तथा असहाय विद्यार्थीका लागि छात्रवृत्ति वितरण लगायतका सेवा प्रदान गरिएको छ । शिविरमा बेरोजगार सूची दर्ता, सामाजिक सुरक्षा भत्ताका लागि नयाँ दर्ता, कृषि प्रविधिसम्बन्धी सल्लाह, परामर्श, आवश्यक बीउबिजन वितरण लगायतका गाउँपालिकाबाट प्रदान गरिने सबै प्रकारका सेवा दिइएको गाउँपालिकाले जनाएको छ ।
एकीकृत शिविरलाई स्वास्थ्य कार्यालय, लायन्स लाकौल आँखा अस्पताल, नेपाल परिवार नियोजन संघ पाल्पा शाखा लगायतको प्राविधिक सहयोग रहेको छ ।
