६ दिनअघि फेला परेको शवकाे पहिचान खुलेन

६ दिनअघि पनाहा खाेलामा तैरिएकाे अवस्थामा फेला परेकाे करिब ३५ वर्षीय पुरुषको शवकाे पहिचान खुल्न सकेकाे छैन ।

मंसिर २५, २०८२

सन्तोष महतारा

The identity of the body found 6 days ago has not been revealed.

गुल्मी — रेसुंगा नगरपालिका र इस्मा गाउँपालिकाकाे सिमाना छल्दी पनाहा खाेलामा पाँच दिनअघि फेला परेको बेवारिसे शवकाे पहिचान खुलेकाे छैन ।

गत शनिबार बिदाको दिन पौडी खेल्ने क्रममा स्थानीय युवाले मृत व्यक्ति देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरीबाट गएका प्रहरी निरीक्षक पर्वत कुमार केसीको टाेलीले रेसुंगा नगरपालिका-४ स्थित पनाहा खाेलाकाे किनारमा जमेको पानीमा घोप्टो पारेको अवस्थामा शव थियो । पानीमा घोप्टो तैरिएकाे अवस्थामा करिब ३५ वर्षीय पुरुषको शवकाे पहिचान खुल्न नसकेकाे प्रहरी निरीक्षक केसीले बताए ।

सेतो र हरियो रङको सर्टबाहिर नाइक लेखेको कालो ट्रयाक र कालो पाइन्ट लगाएकाे अवस्थाकाे शवकाे पहिचान नखुलेपछि घटनास्थल मुचुल्का बनाएर प्रहरीले गुल्मी अस्पताल ल्याएको थियो । अहिले शव गुल्मी अस्पतालकाे मर्सरी फ्रिज (नबिग्रने गरी शव राखिने फ्रिज) मा राखिएको छ । 

जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद अधिकारीले सनाखतका धेरै प्रयास गरे पनि पहिचान नभएको बताए । 'हामीले स्थानीय हराएका व्यक्तिका आफन्तलाई देखाउनेदेखि छिमेकी जिल्लासम्म खबर गरेका छौं,' उनले भने, 'पत्ता लागेको छैन्, शंकास्पद घटनाका रुपमा पनि अनुसन्धान भइरहेको छ ।'

घटनास्थलकाे अवस्था हेर्दा त्यस्तो शंकास्पद नै नदेखिए पनि शव फेला पर्नुभन्दा चार/पाँच दिनअघि नै मृत्यु भएकाे हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

छिमेकी जिल्ला बाग्लुङ, प्यूठान, अर्घाखाँची, पाल्पा, स्याङ्जा र पर्वतमा पनि घटनाबारे जानकारी गराउँदै समन्वय गरिरहेको एसपी अधिकारीले बताए ।

सन्तोष महतारा

Link copied successfully