क्षेत्रीय भेलाबाट गौतमसँगै रत्ना थारू, महेन्द्रकुमार शर्मा र गंगाधर पौडेलको नाम सिफारिस
बर्दिया — फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नम्बर १ बाट निवर्तमान प्रतिनिधिसभा सदस्य सञ्जयकुमार गौतमसहित चार जनाको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरिएको छ ।
क्षेत्रीय भेलाबाट गौतमसँगै रत्ना थारू, महेन्द्रकुमार शर्मा र गंगाधर पौडेलको नाम सिफारिस गरिएको क्षेत्र नम्बर १ का सभापति तथा गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले जानकारी दिए ।
यसैगरी, समानुपातिकतर्फ मिश्रीलाल यादव, तिलकबहादुर बुढाक्षेत्री, लक्ष्मी ढकाल, रहिस अहमद सिद्दीकी, गोविन्दप्रसाद थारू, कालुराम विक र पुष्पलाल श्रेष्ठको नाम सिफारिस गरिएको यादवले जनाए ।
सञ्जय गौतम क्षेत्र नम्बर १ बाट लगातार तीन पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् । एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका वामदेव गौतमलाई पराजित गरेपछि उनी विशेष चर्चामा आएका थिए ।
यसैगरी राष्ट्रिय सभा सदस्यका लागि कांग्रेस जिल्ला सभापति अरुणप्रकाश सिंह राठौर, महेन्द्रराज तिवारी र जावेदा खातुन जागाको नाम सिफारिस गरिएको छ । जावेदा खातुन निवर्तमान प्रतिनिधिसभाकी समानुपातिकतर्फकी सांसद हुन् ।
