क्षेत्र नम्बर ३ मा बालकृष्ण खाँणसहित ७ जना आकांक्षी भएपछि निर्णय हुन सकेको छैन।
What you should know
रुपन्देही — प्रतिनिधि सभाको उम्मेदवार सिफारिसको समय नजिकिँदै गर्दा रूपन्देही कांग्रेसमा विवाद बढेको छ। कांग्रेसले रूपन्देही क्षेत्र नम्बर २, ४ र ५ बाट नाम सिफारिस गरेको छ।
क्षेत्र नम्बर ३ मा बालकृष्ण खाँणसहित ७ जना आकांक्षी भएपछि निर्णय हुन सकेको छैन । खाँण भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली सर्वसाधारणबाट पैसा संकलन गर्ने संगठित गिरोहको ठगी प्रकरणमा मुछिएर पक्राउ परेका थिए ।
क्षेत्र नम्बर ५ बाट पूर्व राज्यमन्त्री एवं कांग्रेस नेता भरत शाहको नाम संस्थापन पक्षले एकल सिफारिस गरेपछि विवाद बढेको छ। क्षेत्र नम्बर ५ बाट शेखर कोईराला पक्षले छुट्टै सूची बनाएर नाम सिफारिस गरेको छ। संस्थापन पक्षले भरत शाहलाई सिफारिस गर्दा अर्को पक्षलाई खबरै नगरी एकलौटी गरेको दाबी गर्दै शेखर समूहले अर्को सूची बनाएर केन्द्रमा सिफारिस गरेको हो।
कांग्रेसले हरेक निर्वाचन क्षेत्रबाट ३ जनासम्म उम्मेदवारको नाम सिफारिस गरी जिल्लालाई पठाउन निर्देशन गरेको छ। जिल्लाले प्रदेश र प्रदेशले केन्द्रमा सिफारिस गर्ने निर्देशन छ। तर, दुई समूहको विवाद भएका स्थानमा आ–आफ्ना पक्षको एकल सिफारिस गर्दै केन्द्रमै पठाइरहेका छन्।
रूपन्देही क्षेत्र नम्बर ५ बाट संस्थापन पक्षले पूर्व अर्थराज्यमन्त्री एवं तीन पटक प्रतिनिधि सभामा निर्वाचित शाहको नाम एकल सिफारिस गरेपछि शेखर पक्षले युवा नेता विष्णु पोखरेलसहित तीन जनाको नाम सिफारिस गरेको छ। शाह २०७९ सालको निर्वाचनमा ५ दलीय गठबन्धनबाट उम्मेदवार भए पनि एमालेका वासुदेव घिमिरेसँग पराजित भएका थिए। पोखरेललाई एकल सिफारिस गर्नु पर्नेमा संस्थापन समूहले खबर नै नगरी शाहको नाम एकल सिफारिस गरेपछि छुट्टै सूची पठाउनु परेको क्षेत्रीय सचिव कृष्णप्रसाद शर्माले बताए।
‘उम्मेदवार सिफारिसका लागि महासमिति सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिलाई अनिवार्य उपस्थित गराउनुपर्ने उल्लेख छ,’ उनले भने, ‘तर प्रदेश महाधिवेशन प्रतिनिधि र हामीलाई जानकारीसम्म नदिएर एकलौटी रूपमा शाहको नाम सिफारिस गरिएछ।’ उनले राजनीतिको जटिल परिस्थितिमा पनि कांग्रेसभित्र नै निषेधको राजनीति भएको बताए।
शेखर समूहले भने युवा नेता पोखरेलसँगै महाधिवेशन प्रतिनिधि तथा पूर्व क्षेत्रीय सचिव प्रकाश भुसाल र महाधिवेशन प्रतिनिधि लीलाकुमारी पौडेलको नाम सिफारिस गरेको छ। रूपन्देही क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले बैठकमा शाहको नाममात्र प्रस्ताव आएको र कसैले विरोध नगरेकाले एकल सिफारिस गरिएको दाबी गरे । तर, पोखरेललाई उम्मेदवार बनाउन भन्दै कांग्रेसका क्षेत्रीय सचिव कृष्णप्रसाद शर्मा, क्षेत्रीय सह–सचिव हरिप्रसाद घिमिरे, सह–सचिव चिरञ्जीवी खनाल, महासमिति सदस्य शेषमन यादव, महाधिवेशन प्रतिनिधि शारदा गौतम, चामबहादुर थापा, खिमानन्द खनाल, हुमनाथ अधिकारी, दिलमाया कँडेललगायतले सिफारिसमा हस्ताक्षर गरेका छन् । यस्तै, क्षेत्रका जिल्ला समिति सदस्य तथा पालिका सभापतिहरुले पनि पोखरेलको पक्षमा हस्ताक्षर गरेका छन्।
यस्तै, संस्थापन पक्षले समानुपातिकतर्फ क्षेत्रीय सभापति वसिउल्लाह मुसलमान र मामकला थापा तथा राष्ट्रिय सभामा सूर्यमति उपाध्याय र शेषमन यादवलाई सिफारिस गरेको छ। शेखर पक्षले प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ अधिवक्ता शेषमन यादव, डोलबहादुर थापा, दिलमाया कँडेल, खडानन्द खनाल र सीता पोखरेल तथा राष्ट्रिय सभामा रघुनाथ घिमिरे, इन्द्रबहादुर जीसी र कल्पना ढकाललाई सिफारिस गरेको छ ।
त्यस्तै, क्षेत्र नम्बर २ बाट चुन्न पौडेल, प्रकाश राना, युवराज गिरी, कुमार केसी र प्रजापाल गिरीको नाम सिफारिस भएको छ। रूपन्देही क्षेत्र नम्बर ३ बाट केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ७ जनाको नाम परेपछि सिफारिस हुन सकेको छैन । क्षेत्र नम्बर ३ बाट खाँणको एकल सिफारिस गर्ने प्रयास भइरहेको छ। क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सुशील गुरुङका अनुसार समानुपातिकमा पनि ७ जना र प्रत्यक्षमा पनि ७ जनाको नाम आएपछि सहमतिको प्रयास भइरहेको बताए ।
क्षेत्र नम्बर ४ बाट नेता प्रमोद यादवको नाम एकल रूपमा सिफारिस भएको छ। उनी यसअघि पनि सोही क्षेत्रमा प्रतिस्पर्धा गरेर सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए ।
