हत्यामा संलग्न रहेको आशंका गरिएका व्यक्तिको नाममा रहेका अमेरिकाको ग्रीन कार्ड, भारतीय आधार कार्ड लगायत विदेशी मुद्रा घटनास्थलबाट बरामद भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले बताए।
बर्दिया — राजापुर नगरपालिका–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको हत्या गरिएको घटनास्थलमा अमेरिकाको ग्रीन कार्ड, भारतीय आधार कार्ड र राहदानी फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंका गरिएका दाङको तुलसीपुर नगरपालिका–५ घर भई राजापुर नगरपालिकास्थित पोल्ट्री फर्ममा काम गर्दै आएका ५१ वर्षीय महावीर चौधरी फरार छन्।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले महावीरका नाममा रहेको अमेरिकाको ग्रीन कार्ड, भारतीय आधार कार्ड लगायत विदेशी मुद्रा घटनास्थलबाट बरामद भएको बताए ।
आइतबार बिहान ८ बजे अचेत अवस्थामा थारु घर रेष्टुरेन्टमा फेला परेका निरजको नेपालगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। एम्बुलेन्स ल्याउँछु भन्दै महावीर मोटरसाइकल चढेर फरार भएका थिए ।
