प्रतिनिधिसभा निर्वाचन : पाल्पा-१ बाट राना कांग्रेस उम्मेदवार सिफारिस

पाल्पा क्षेत्र नम्बर १ मा २०५१ सालपछि कांग्रेसले पराजय भोग्दै आएको छ ।

मंसिर २३, २०८२

माधव अर्याल

House of Representatives election: Rana Congress candidate recommended from Palpa-1

What you should know

पाल्पा — प्रतिनिधिसभा सदस्यका लागि पाल्पा क्षेत्र नम्बर १ मा कांग्रेसबाट प्रत्यक्षतर्फ सन्दीप रानाको नाम सर्वसम्मत भएको छ ।

फागुन २१ मा हुने निर्वाचनका लागि उम्मेदवार सिफारिसका लागि बसेको क्षेत्रीय समितिको बैठकले रामपुर नगरपालिका–७, निवासी रानाको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति झमन राज मगरले जानकारी दिए । 

पाल्पा १ बाट प्रतिनिधिसभा समानुपातिकतर्फ लुम्बिनी प्रदेश सदस्य कृष्णप्रसाद अधिकारी र एकजना महिला थप गर्ने गरी उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको उनले बताए । क्षेत्रीय समितिका पदाधिकारी, सदस्य साथै  कांग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, सचिव सन्तोषकुमार थापा मगरलगायत महासमिति, महाधिवेशन प्रतिनिधि, नगर, गाउँ सभापतिहरुको सहभागितामा बैठक बसेको हो । प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरिएका राना कांग्रेस लुम्बिनी प्रदेश सदस्य र अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्षसमेत हुन् । 

क्षेत्रीय समितिले सिफारिस गरिएको नाम जिल्ला र प्रदेश समितिलाई पठाइने क्षेत्रीय सभापति राज मगरले बताए । यिनै नामबाट पार्टी उम्मेदवार बनाइनेछ । क्षेत्रीय समितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरण र १५ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्ने निर्णय गरेको छ । क्षेत्र नम्बर १ मा २०५१ सालपछि कांग्रेसले पराजय भोग्दै आएको छ । 

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पाल्पा १ मा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले निकटतम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरमा पराजित गरेका थिए । निर्वाचनमा आचार्यले सदर मतमध्ये ३१ हजार १ सय ३ मत प्राप्त गरेका थिए । कांग्रेसका उम्मेदवार गाहाले २० हजार २ सय ५६ मत पाएका थिए । 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully