मर्चवारमा ६ सय जनाको आँखा जाँच गर्दा २८० मा मोतियाविन्दु

मोतियाविन्दु देखिएका बिरामीको आगामी सातादेखि भैरहवास्थित लुम्बिनी नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिनेछ ।

मंसिर २१, २०८२

दीपेन्द्र बडुवाल

During the eye examination of 600 people in Marchwar, 280 were found to have cataracts.

भैरहवा — रुपन्देहीको ग्रामीण क्षेत्रस्थित मर्चवारमा सञ्चालित आँखा शिविरमा ६ सय जनाको जाँच गर्दा २ सय ८० जनामा मोतियाविन्दु पुष्टि भएको छ ।

रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले शनिबार कोटहीमाई गाउँपालिका–५, मा आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरमा जाँच गराएकामध्ये आधा सर्वसाधरणमा मोतियाविन्दुको समस्या देखिएको हो ।  

मोतियाविन्दुबाट प्रभावित क्षेत्रका बासिन्दा लक्षित गरी शिविर आयोजना गरिएको क्लबका अध्यक्ष विष्णु शर्माले बताए । उनका अनुसार शिविरमा आँखा जाँच गराउन गाउँगाउँबाट स्थानीय आएका थिए । अधिकांश ४५ वर्षभन्दा माथिका मर्चवारका नागरिकमा मोतियाविन्दु देखिएको छ । शिविरमा आँखा समस्या देखिएका विरामीलाई निःशुल्क औषधि समेत वितरण गरिएको छ ।

मोतियाविन्दु देखिएका बिरामीको आगामी सातादेखि भैरहवास्थित लुम्बिनी नेत्रालयमा निःशुल्क शल्यक्रिया गरिनेछ । रोटरीले यसवर्ष २ सय ५० जना मोतियाविन्दुका विरामीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य लिएको छ । सोहीअनुसार दुर्गम बस्तीहरुमा शिविर सञ्चालन गरिएको शर्माले बताए । 

एकै स्थानमा सञ्चालन गरिएको शिविरमा अधिक मानिसमा मोतियाविन्दु देखिएपछि अन्य संघसंस्थालाई पनि शल्यक्रियामा सघाउन क्लबले आग्रह गरेको छ । अध्यक्ष शर्माले समाजिक उत्तरदायित्व अन्तर्गत क्लबले अधिकांशको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिने जनाए । लुम्बिनी नेत्रालयका सञ्चालक डा. हिरा शाहले उमेर ढल्कदै गएका महिला–पुरुष र वृद्धवृद्धामा मोतियाविन्दुको समस्या देखिएको जनाए । ‘यहाँ मोतियाविन्दुको विकराल अवस्था देखियो,’ उनले भने, ‘सचेतना र आर्थिक अभावले अस्पताल नजाने, जाँच नगर्ने समस्या बढी पाइयो ।’

दीपेन्द्र बडुवाल

Link copied successfully