दुई वर्षमा सक्नुपर्ने शीत भण्डारको काम १३ वर्षमा पूरा हुँदै

पाल्पा, गुल्मी, स्याङ्जाका किसानलाई भैरहवा लैजानुपर्ने बाध्यतालाई हटाउन पाल्पामा शीत भण्डार निर्माण गरिएको हो ।

मंसिर १९, २०८२

माधव अर्याल

The cold storage project, which was supposed to be completed in two years, is being completed in 13 years.

What you should know

पाल्पा — तानसेन नगरपालिका र निर्माण व्यवसायीको लापरबाहीले दुई वर्षमा निर्माण सक्नुपर्ने शीत भण्डारको काम १३ वर्षमा पूरा हुँदै छ ।

तानसेन नगरपालिका–७, बाघखोरस्थित कोल्ड स्टोरको भवन निर्माणको काम लगभग सकिएको हो ।

चार रोपनी क्षेत्रफलमा २ सय मेट्रिक टन क्षमताको शीत भण्डारको मुख्य भवनसँगै वरपरको भागमा तारबार, फूलबारी, कार्यालय भवन, गार्ड रुम लगायतका काम सकिएको हो । भवन निर्माणको काम ११ वर्षअघि नै सकिनुपर्ने थियो । शीत भण्डारका लागि भवन निर्माण कार्य सकिए पनि आवश्यक मेसिनरी सामग्री अझै आउन बाँकी रहेको तानसेन नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले बताए । ‘२०७१ सालमै भवन निर्माणको कामसँगै मेसिनसमेत आउनुपर्ने हो,’ उनले भने, ‘यसमा विभिन्न कारणले ढिलाइ भएको हो ।’ 

भारतीय राजदूतावासको सहयोगमा २०६९ फागुन २३ गते दुई वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का भएको थियो । ४ करोड ४ लाख ४४ हजार ४१० रुपैयाँ भारतीय राजदूतावासको सहयोग र तानसेन नगरपालिकाको ५५ लाख ४७ हजार ४६९ रुपैयाँ लागत साझेदारीमा ठेक्का भएको तानसेन नगरपालिकाले जनाएको छ । निर्माणका लागि हिमदुङ एण्ड ठोकर/जय रक्तकाली जेभी निर्माण कम्पनीसँग सम्झौता भएको थियो । जय रक्तकाली निर्माण कम्पनीले काम सुरु गरेको भए पनि बीचमै अलपत्र छाडेको थियो ।

नगरपालिकाको दबाबपछि निर्माण कम्पनीले काम सम्पन्न गरेको तानसेन नगरपालिकाका इन्जिनियर श्रेष्ठले जानकारी दिए । हिमदुङ एण्ड ठोकर निर्माण कम्पनी बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामाको हो । पाल्पा, गुल्मी, स्याङ्जाका किसानलाई भैरहवामा रहेको कोल्ड स्टोरमा लैजानुपर्ने बाध्यतालाई हटाउन पाल्पाको शीत भण्डार निर्माण गरिएको हो । कोल्ड स्टोर निर्माणले नगर तथा ग्रामीण क्षेत्रमा उत्पादन हुने सुन्तला, आलु, जुनार लगायतका सामग्री राख्न सहयोग पुग्नेछ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully