लुम्बिनी विकास कोषका सदस्य सचिव श्रेष्ठले गरे पदभार ग्रहण 

श्रेष्ठले लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयमा हाजिरी गरेर पदभार ग्रहण गरेका हुन् ।

मंसिर १७, २०८२

मनोज पौडेल

Member Secretary of Lumbini Development Fund Shrestha takes charge

लुम्बिनी — मन्त्रिपरिषद्ले गरेको निर्णय तत्कालीन मुख्य सचिव एकनारायण अर्यालले प्रमाणीकरण नगरेपछि ढिलो नियुक्ति पाएका लुम्बिनी विकास कोष सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन् । 

श्रेष्ठले लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयमा हाजिरी गरेर पदभार ग्रहण गरेका हुन् । तत्कालीन मुख्य सचिव अर्यालले निर्णय प्रमाणीकरण नगरेपछि कानुनी मान्यता नपाउँदा फेरि मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेपछि पत्र लिएर आई बुधबार पदभार ग्रहण गरेका हुन् ।

श्रेष्ठलाई गत मंसिर ४ गतेकै क्याबिनेट बैठकले सदस्य सचिव पदमा नियुक्त गरेको थियो । श्रेष्ठ खानेपानी संस्थामा डेढ दशकसम्म सहायक प्रबन्धक भएर काम गरेका थिए । उनले राजीनामा दिएर कोष सदस्य सचिव बनेका हुन् । उनले पदभार ग्रहण गर्दै लुम्बिनीलाई आध्यात्मिक पर्यटकीय गन्तव्य उत्कृष्ट स्थल बनाउन योजना बनाएर काम गर्ने बताए । 

'लामो समयदेखिको अधुरो रहेको लुम्बिनी विकास गुरुयोजना पूरा गर्ने तर्फ ध्यान केन्द्रित गर्छु,' उनले भने, 'स्थानीयको भावना, चाहनालाई प्राथमिकता दिन्छु ।' तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७७ असोज २२ मा नियुक्त गरेका सदस्य सचिव सानुराजा शाक्यको ५ वर्षे पदावधि गत असोज २१ गते सकिएको थियो । त्यसपछि सदस्य सचिव पद रिक्त थियो । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully