रामपुर नगरपालिका–१ मा राखिएको एकीकृत घुम्ती शिविरबाट एक दिनमै ४८५ जना नागरिकले विभिन्न सेवा लिएका हुन् ।
What you should know
पाल्पा — रामपुर नगरपालिकाकै दुर्गम वडामा राखिएको एकीकृत घुम्ती शिविरबाट एकै दिनमा सयौँ नागरिक लाभान्वित भएका छन् । रामपुर नगरपालिका–१ मा राखिएको एकीकृत घुम्ती शिविरबाट एक दिनमै ४८५ जना नागरिकले विभिन्न सेवा लिएका हुन् ।
रामपुर नगरपालिकाले वडा नम्बर १ र २ का नागरिकलाई लक्षित गरेर सहज सेवा प्रदानका लागि नगरपालिका कार्यालयबाट प्रदान गरिने सेवासँगै स्वास्थ्य जाँचसहितको सेवा प्रवाह गरेको नगरप्रमुख रमण बहादुर थापाले बताए ।
शिविरबाट योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नवीकरणलगायतको सेवा प्रदान गरिएको उनले बताए ।
कृषि तथा पशु सेवा लगायतका सेवा, आँखा, कान परीक्षणसहित अन्य स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको छ । ‘स्थानीय सरकार जनताको सेवाका लागि साथमा छ भन्ने आभास दिलाउन ग्रामीण वडामा पुगेर सेवा दिइएको हो,’ उनले भने, ‘नगरपालिका कार्यालयदेखि दूरीका हिसाबले टाढा रहेका नागरिकका लागि शिविर सञ्चालनले फाइदा पुगेको छ ।’
शिविरमा स्वास्थ्य जाँच सेवा १ सय ७० जनाले लिएका छन् भने ल्याब सेवा १ सय ४० जनाले लिए । शिविरमै मधुमेह परीक्षणका साथै ४५ जनाको एचआईभी परीक्षण गरिएको छ । आँखा तथा कान परीक्षण (आँखा जाँच १ सय ३० र कान परीक्षण ७० जना) गरिएको थियो । आँखाको परीक्षण गरिएका मध्ये ११ जनामा मोतिया विन्दुको समस्या देखिएको कालीगण्डकी आँखा उपचार केन्द्रका प्रमुख सुन्दर रानाले बताए ।
सामाजिक सुरक्षा भत्ताको बायोमेट्रिक सेवा ४२ जना, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र सेवा ६ जनाले लिएका छन् । शिविरबाट २७ वटा योजनाको सम्झौता र एक वटा योजनाको बैंक खाता खोलिएको छ । शिविरबाटै पशु सेवा १ सय ७० जना, कृषि सेवा २ सय ६ र आयुर्वेद सेवा १ सय १ जनाले लिएको योजना शाखा प्रमुख विक्रम बस्नेतले बताए । शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञसहितको स्वास्थ्य जाँच, कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परीक्षण र औषधि वितरण सेवा प्रवाह गरिएको थियो ।
