एमालेकी रेवती गुरुङ बनिन् लुम्बिनी प्रदेशसभा सदस्य

समानुपातिक प्रदेशसभा सदस्य सरिता पुनको मृत्यु भएपछि रिक्त पदमा गुरुङलाई एमालेले सांसद बनाएको हो 

मंसिर १६, २०८२

घनश्याम गौतम

UML's Revati Gurung becomes Lumbini Provincial Assembly member

बुटवल — रेवती गुरुङले लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएकी छिन् । निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार रिक्त भएको स्थानमा गुरुङलाई प्रदेशसभा सदस्य नियुक्त गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयले जनाएको छ । 

रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो । पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी गुरुङलाई मनोनयन गरिएको हो ।

गुरुङ एमालेको बन्द सूचीमा क्रम नम्बर १३ मा रहेकी र प्राथमिकता सूचीको पहिलो स्थानमा परेकाले अवसर पाएकी हुन् । प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० (२) तथा निर्वाचन नियमावली, २०७४ को नियम ४७ (५) बमोजिम रिक्त स्थानमा सूचीकृत क्रमअनुसारका उम्मेदवार नियुक्त हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार गुरुङलाई प्रदेशसभामा सभामुख तुलाराम घर्ती मगरले मंगलबार प्रदेशसभा सदस्य पदको शपथ गराएका छन् । 

एमाले रुपन्देहीमा तीन कार्यकाल जिल्ला सदस्य बनेकी गुरुङ यसअघि एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । लामो समयदेखि राजनीतिमा क्रियाशील गुरुङले २०७९ को निर्वाचनको पहिलो चरणमै प्रदेशसभा सदस्य बन्ने आशा राखे पनि नपाएपछि असन्तुष्ट थिइन् । 

चैतमा जनमतबाट राजीनामा दिएर खालि भएको स्थानमा केही समयअघि निलम पासवान नियुक्त भएकी थिइन् । पासवान र गुरुङ  दुवै जना अबको दुई वर्ष प्रदेशसभा सदस्य पदमा रहनेछन् । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully